
काठमाडौं– आईसीसी ट्वान्टी–२० महिला विश्वकपमा अष्ट्रेलिया र भारतले विजयी शुरुवात गरेका छन् । समूह ‘बी’ अन्तरगतको खेलमा भारतले न्युजिल्याण्डलाई ३४ रन र अट्रेलियाले पाकिस्तानलाई ५२ रनले पराजित गरे ।
भारतले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६० रन मात्र बनायो । यसअघि पहिला ब्याटिङ गरेको भारतले क्याप्टेन हारमनप्रित कौरको १ सय ३ रनको मद्दतमा निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।
समूह बी कै अर्को खेलमा अष्ट्रेलियाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १३ रन मात्र बनाउन सक्यो । ६ जना व्याट्वुमन्स दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्केको पाकिस्तानी इनिङ्समा बिसमाह महरुफले सर्वाधिक २६ रन बनाइन् । अष्ट्रेलियाले भने निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।