
सुर्खेत– अहिलेको स्वार्थी समाजमा कोही व्यक्तिले निःशुल्क रुपमा गाउँमा सेवा गर्छ भन्ने कुरा धेरैलाई पत्याउनै गाह्रो छ । हरेक व्यक्ति धन, सम्पतीको पछि दौडिरहेको हुन्छ । तर, सुर्खेतको गुर्भाकोट–१४ गुमीमा भने एक व्यक्तिले धन पैसा भन्दा पनि विगत पाँच वर्षदेखि एक प्राविमा निःशुल्क रुपमा अध्यापन गरिरहेका छन् ।
सानै उमेरमा बुवाआमा गुमाएका गुमीका ३२ वर्षीय गजेन्द्र राना अहिले त्यहाँ रहेको जनसंयुक्त विद्यालयमा अध्यापन गराइरहेका छन् । स्नातकोत्तर अध्ययन गरेर उनी गाउँमा पाँच वर्षअघि फर्केका हुन् । बाबुआमाको निधनपछि एक बहिनीसहित उनलाई सुर्खेतमा रहेको एसओएस बालग्राममा भर्ना गरियो ।
उनले कक्षा १० सम्म त्यतै अध्ययन गरें । ‘म एसएलसी पास गरिसकेपछि साथीको कारण गाउँमा पहिलोपटक आएको थिएँ ।’ उनले भने, ‘त्यसपछि काठमाडौं गएँ र अध्ययन सम्पन्न गरेर यहाँ आए र अब जान मन लाग्दैन ।’ उनी चाडपर्वका बेला गाउँमा आउँदा यहाँको जनसंयुक्त विद्यालयको दयनीय अवस्था देखेर चिन्तित हुन्थे ।
‘पाँच कक्षासम्मको विद्यालयमा १०–१५ जना विद्यार्थी थिए । पढाउने शिक्षकको अभाव, विद्यालय आएका विद्यार्थी दिनभरी माटोमा खेलेर घर फर्किन्थे ।’ विगत स्मरण गर्दै उनले भने, ‘बादी र जनजाति समुदायको बसोबास रहेको यो गाउँमा उच्च शिक्षा अध्ययन गरेको म मात्रै एक्लो थिएँ ।’ पाँच वर्षदेखि उनले अध्यापन गर्न शुरु गरेको विद्यालयले गरेको प्रगति लोभलाग्दो छ ।
‘पहिले विद्यार्थीहरू यहाँ अध्ययन गर्न मान्दैन थिए । विद्यालय मर्ज हुने अवस्थामा थियो । विद्यार्थीहरु जाडोमा कपडामा टाँक नलगाएर पनि आउने गरेका थिए भने सरसफाईमा उनीहरु शुन्य नै देखिन्थे ।’ उनले भने, ‘तर अहिले समय फेरिएको छ । यो विद्यालयमा अहिले १५० भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । बोर्डिङ छोडेर सरकारी विद्यालयमा आउने विद्यार्थीहरुको लहर चल्न थालेको छ ।’
उनलाई आर्थिक समस्या भने झेल्न गाह्रो रहेछ । ‘स्वंसेवा गरिरहेका कारण मलाई आर्थिक समस्या केहि मात्रामा आएको छ ।’ उनले भने, ‘मलाई मेरी बहिनी र विद्यालयका शिक्षकहरुले चाडपर्वको बेलामा १५ हजार जति खर्च दिने हुँदा केहि समस्या समाधान हुन्छ ।’ उनले आफूले पैसालाई भन्दा विद्यार्थीहरुलाई बढी महत्व दिएको बताए । ‘पैसा भएर मात्रै सबैकुरा मिल्दो रहनेछ ।’ उनले भने, ‘मलाई पैसा कमाउने रहर भएको भए म यतिबेला नर्वेमा हुन्थे होला । तर, मलाई पैसा कमाउनु भन्दापनि बढी खुशी कमाउन मन लाग्यो र म यहाँ बस्न थालें ।’
‘इच्छाशक्ति भए सबै संभव हुँदो रहेछ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर सुनारले भने, गजेन्द्र सर आएपछि विद्यालयले उल्लेख्य प्रगति गरेको छ । ‘विद्यालयमा अहिले अंग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । विद्यालयमा पोशाक अनिवार्य छ । विद्यालय परिसरभरी फोहर देखिँदैन । सरकारी विद्यालय भन्ने वित्तिकै नाक खुम्च्याउने अभिभावकहरु आफ्ना नानी–बाबुहरु भर्ना गर्न ‘सोर्सफोर्स’ लगाउँछन् ।’ उनले भने, ‘यहाँका अधिकांश अभिभावकहरुले ऋण गरेरै भएपनि पहिले बोर्डिङ स्कूलमा आफ्ना छोराछोरी पढाउनुहुन्थ्यो अहिले बोर्डिङ छोडेर आउनेको लहर चलेको छ ।’
पाँच वर्षअघि राना विद्यालयमा प्रवेश गर्दा २४ जना विद्यार्थी अध्ययनरत थिए । अहिले १५० भन्दाबढी विद्यार्थीहरु छन् । पाँच वर्षअघि शुरुमा तीन महिनाका लागि स्वंयसेवा गर्न आएका गजेन्द्र पाँच वर्षदेखि निरन्तर विद्यालय सुधार अभियानमा छन् । ‘आफू जाँदा विद्यालयको अवस्था फेरि पुरानै अवस्थामा फर्किने हो कि भन्ने चिन्ता लागिरहेको छ ।’ उनले भने, ‘आफ्ना गाउँका नानीबाबुहरुको भविष्य अन्धकार देखेपछि केही महिनाका लागि सेवा गरौं भन्ने उद्देश्यले आएको थिएँ, दिन, महिना हुँदै पाँच वर्ष पुगिसक्यो, विद्यार्थीको भविष्य र अभिभावकको मायाले छोड्नै सकेको छैन् ।’
उनले अब विद्यालयलाई कक्षा ८ सम्म सञ्चालन गर्ने लक्ष्य लिएको बताए । ‘मेरो चाहना कक्षा आठसम्मको अध्ययन यहि गर्न सकियोस भन्ने हो ।’ उनले भने, ‘तर यहाँ कक्षाकोठाको अभाव रहेको छ ।’ उनले शिक्षकले चाहेको खण्डमा बोर्डिङ भन्दापनि राम्रो शिक्षा दिक्षा दिन सकिने बताए ।
हुन त न उनी विद्यालयको शिक्षक हुन, न त उनी प्रधानाध्यापक नै हुन् । तर पनि आफू जन्मेको गाउँमा स्वंयसेवा गरी गाउँको मुहार परिवर्तन गर्न खोज्ने उनी एक्ला कर्णालीका तारा हुन भन्दा फरक नपर्ला । उनले विद्यालयमा अवलम्बन गर्ने गरेको शिक्षण शैली, व्यवस्थापनलाई अन्य विद्यालयले ग्रहण गरेर लागू गर्न सकेको खण्डमा कर्णालीको शैक्षिक अवस्था पनि सुधार हुने अपेक्षा गर्न सकिन्छ ।