काठमाडौं — फेसबूकले आफ्नो कार्यालयभित्रको डेटिङ नीतिमा परिवर्तन ल्याएको छ । कम्पनीका अनुसार, अब निर्देशक वा त्यसभन्दा माथिको पदको मानिसले आफ्नो सहकर्मीसँगको रोमान्टिक सम्बन्धको खुलासा गर्नुपर्ने हुन्छ ।
उक्त सहकर्मी सीधै उसमुनि काम गर्दैन भने पनि त्यसको जानकारी दिनुपर्ने हुन्छ ।
फेसबूकको आन्तरिक पोस्टमा आफ्ना कर्मचारीहरूलाई नयाँ नीतिका बारेमा बताइएको द वाल स्ट्रीट जर्नलले लेख्यो । नयाँ नीतिअनुसार, फेसबूकका कर्मचारीले चाहेमा यौन दुर्व्यवहारको विषयमा कम्पनीमा उजुरी दिनुसाटो सीधै अदालतमा मुद्दा दर्ता गराउन सक्छन् ।
यसअघि गूगलले पनि बिहीवार यौन दुर्व्यवहार र यौन शोषणको विषयमा कम्पनीको मध्यस्थता वैकल्पिक उपायका रूपमा मात्र रहेको र कर्मचारीले सीधै अदालती कारवाही चलाउन सक्ने घोषणा गरेको थियो ।
यसैबीच फेसबूकले नयाँ भिडियो एप लासो सार्वजनिक गरेको छ । उक्त एपमा अनेकथरी फेस फिल्टर र इफेक्टहरू उपलब्ध छन् । यसले भिडियोलाई बढी रमाइलो र अद्वितीय बनाएर शेयर गर्न मिल्ने भएको छ ।
फेसबूकका उत्पादन व्यवस्थापक एन्डी हुआङले शुक्रवार एक ट्वीटमा भने, ‘फेसबूकको नयाँ भिडियो एप लासो अब अमेरिकामा उपलब्ध छ ।’
एजेन्सी