काठमाडौं — ब्राजिलको रियो द जेनीरोमा शनिवार गएको पहिरोमा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।
रियोका उद्धारकर्मीहरूले मोरो डो बोआ स्पेरेन्सा इलाकामा ११ जनालाई सुरक्षित बचाइएको बताए । अहिले पनि कम्तीमा चारजना बेपत्ता छन् ।
ग्लोबो न्युजसँगको कुराकानीमा रियो फायर डिपार्टमेन्टका कमान्डर रोबर्टो रोबाडेले एक नवजात, दुई बच्चा र ३३ वर्षीय एक व्यक्तिलाई बचाइएको जानकारी दिए । उनीहरूलाई अनेकौं चोट लागेको र स्थानीय अस्पतालमा भर्ना गरिएको पनि उनले बताए ।
मृतकमा एक बालक, दुई वृद्ध महिला, एक व्यक्ति, एक महिला र १० महिनाको एक शिशु रहेका छन् ।
रोबाडेले नागरिक उद्धारकर्मी र सरकारी उद्धारकर्मी समेत २०० जनाले उद्धार अभियान चलाएको बताए । राहत कार्य कम्तीमा ४८ घन्टा अझै चल्ने उनको भनाइ छ ।
रियो डी जेनीरोको नीतेरोई क्षेत्रमा केही दिनयता भारी वर्षाले प्रभाव पारेको कमान्डरले बताए ।
एजेन्सी