१० साउन २०८३, आइतबार

पहाड र मधेश जोड्ने सेतु बन्दै छठ पर्व, आज दोस्रो दिन खरना मनाइँदै

कात्तिक २६, २०७५
पहाड र मधेश जोड्ने सेतु बन्दै छठ पर्व, आज दोस्रो दिन खरना मनाइँदै
सन्दर्भ तस्वीर

काठमाडाैं-  सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा उपासना गरी मनाइने छठ पर्व आइतबारदेखि शुरु भएको छ । केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र सीमित छठ पर्व अहिले राजधानी लगायत मुलुकको प्रमुख शहरहरूमा विस्तार हुँदै छ । यसले राष्ट्रिय पर्वको आकार मात्र लिँदै छैन, पहाड र मधेश जोड्ने सेतु पनि बन्दै छ । 

जातीय तथा क्षेत्रीय मुद्दामा विवाद र विभाजित हुन लागेकाहरूलाई छठ पर्वले सद्भाव, एकता तथा सहिष्णुताको सन्देश दिन थालेको छ । आइतबारदेखि छठको रौनक सुरु भएको हो । यसको तयारी पनि राजधानी काठमाडौँलगायत देशैभर तीब्र छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व हिजो स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । 

छठ पर्वअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बस्ने गरिन्छ ।

विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको हो । विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो ।

यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति शुरु भएको थियो । कार्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका श्याम शर्माले बताए ।

“षष्ठीका दिन ब्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”, उनले भने । षष्ठीका दिन पकवान, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । 

साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिइ प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहानैदेखि प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । 

सूर्यको दर्शन गर्दा भक्त लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको राघवेन्द्र यादव बताउछन् । “पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उनले भने ।

कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सूयोग्य वर बधुप्राप्तिको कामना गर्छन् । 

सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीकोसमेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताए । सर्वप्रथम छठी माताले सूर्यदेवलाई खुशी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । 

महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञात वास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको एकथरि मत छ ।         
 
सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको अर्काथरीको मत छ । दुई दशकअघिसम्म तराई क्षेत्रमा मात्र मनाइने छठ हाल राजधानी र पहाडी क्षेत्रको नदी, पोखरी एवं तालको किनारमा समेत विधिपूर्वक मनाउन थालिएको छ । 

राजधानीमा छठको तयारी
उपत्यकाका विभिन्न स्थानमा छठ मनाउन सरसफाइ एवं सजावटसहित तयारीका काम शुरु भएको छ । वाग्मती नदी किनारका विभिन्न स्थान र कमलपोखरीमा छठ मनाउने तयारी भएको हो । 

गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा छठको विशेष सफाइका लागि वाग्मती सफाइ महाअभियानको २८७औँ हप्ताको सफाइ गरिएको थियो । नदी किनारको थापाथली, नारायणटार र गोकर्ण क्षेत्रमा तयारी भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी शुरु भएको छ । दुई दशकअघिदेखि राजधानीमा छठको रौनक बढ्न थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्