
काठमाडौं–ऐतिहासिक धरहराको पुनर्निर्माण शुरु भएको छ । २०७२ साले वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण भत्किएको धरहरा साढे तीन वर्ष पछि बन्न लागेको हो ।
निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले धरहरा निर्माणस्थलका अनावश्यक सामग्री हटाउँदै काम शुरु गरेको छ । नयाँ धरहराको जग खन्न शुरु गरेको छ । पुरानो धरहरा र नयाँ बन्ने धरहरा क्षेत्रलाई तारबार गरी निर्माण सामग्री भण्डारण गरिएको छ ।
नयाँ धरहरा पुरानोबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा निर्माण गरिनेछ । गजुरसहित नयाँ धरहराको उँचाई करिब ७७ मिटरको हुनेछ । पुनर्निर्माण हुने धरहराको स्वरुप क्षतिग्रस्त धरहराको जस्तै हुन्छ । मोटाइ भने पहिलेको भन्दा केही बढी हुनेछ ।

भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने पुनर्निर्माण प्राधिकरणले जनाएको छ । नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाउन लागिएको हो ।
अब धरहरा क्षेत्र अब ४२ रोपनी जमिनमा फैलनेछ । त्यसका लागि नजिकै रहेको गोश्वारा हुलाक कार्यालय हटाइने छ भने वाणिज्य बैङ्क रहेको टक्सार भवन पनि भत्काइने छ । सो ठाउँमा सङ्ग्रहालय बनाउने योजना प्राधिकरणको छ । । धरहराका क्षेत्रमा मनोरम बगैँचा समेत निर्माण गरिने छ ।

धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बन्ने छ । हाल कायम रहेको गोश्वारा हुलाक कार्यालय भएको स्थानमा पार्किङ स्थल बनाउन लागिएको हो । अहिले भएको गोश्वारा हुलाक कार्यालयमा प्रवेशद्वार हुनेछ । प्रवेश गरेपछि त्यहाँबाट दुई तलामुनि गएर लिफ्टबाट माथिल्लो भागमा जान सकिनेछ ।
पुनर्निर्माणका क्रममा सुन्धाराको धारालाई पनि मर्मत गरिनेछ ।

धरहरा निर्माणका लागि अघिल्लोपटक प्रधानमन्त्री हुनभएका बेला केपी शर्मा ओलीले २०७२ सालमा नेपालीको लगानीबाटै धरहरा बनाउन ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरु गरेका थिए । त्यसका लागि छुट्टै बैङ्क खातासमेत सञ्चालनमा ल्याइएको थियो । जसमा प्रधानमन्त्री ओली र तत्कालीन मन्त्रीहरुले एक महिनाको तलब योगदान गरेका थिए ।



















