
काठमाडौं — रुसमा बस्ने इभान सुखोभ नामक व्यक्तिका तीन पत्नी छन् । अब्लास्ट रिजनमा बस्ने उनी अझै पत्नी थप्ने र कम्तीमा ५० बच्चा जन्माउने सपना पाल्छन् ।
पत्नीहरूले गल्ती गर्दा वा उनीहरूसित रिसाएको बेलामा सुखोभले अनौठो सजाय दिन्छन् ।
कुनै पत्नीले दुःख दिएमा उनले सजायस्वरूप एक महिनासम्म शारीरिक सम्बन्ध बनाउँदैनन् ।
रुसी कानूनअनुसार, सुखोभले आधिकारिक रूपमा एक मात्र पत्नी राख्न पाउँछन् । अन्य दुई पत्नीहरू सहमतिका रूपमा उनीसँग बस्छन् ।
बहुविवाह गर्नुअघि सुखोभ पहिलो पत्नी नातालिया सुखोभासँग ११ वर्षसम्म बसे । अस्पतालमा नर्सका रूपमा काम गर्ने नातालियाले भनिन्, ‘पहिला त मैले पतिलाई बहुविवाह गर्ने अनुमति दिएको थिइनँ तर पछि मैले मन परिवर्तन गरें । उनी वास्तवमै ठूलो परिवार चाहन्छन् ।’
सुखोभका अहिलेसम्म नौ बच्चा छन् । तीमध्ये ६ बच्चा नातालियाले र तीन बच्चा एनाले जन्माएकी हुन् । एनाले अब परिवारको १०औं बच्चा पाउन लागेकी छन् ।
यो परिवार तीन कोठा भएको फ्ल्याटमा बस्छ । तर सुखोभ यसलाई बेचेर ठूलो घर किन्ने सुरमा छन् ।
सुखोभको आफ्नै छुट्टै कोठा छ र उनी हरेक रात एक पत्नीसँग बिताउँछन् । तीनै पत्नीहरू खुशीका साथ बसेका छन् ।
मदीना नामक तेस्री पत्नीलाई हालै मात्र सुखोभले परिवारमा भित्र्याएका हुन् । मदीना मुसलमान हुन् भने सुखोभ अर्थोडक्स क्रिस्चियन हुन् ।
एजेन्सी