काठमाडौं, ३० मंसिर — भारतमा रहेका नेपाली र शिख समुदायको मर्यादा र आत्मसम्मानका विषयमा परेका दुईवटा सार्वजनिक सरोकारका मुद्दामा भारतीय सर्वोच्च अदालतले संयुक्त सुनुवाई गर्ने भएको छ ।

बुधवार प्रधान न्यायाधीश टि. एस. ठाकुर र न्यायाधीश डि. वाई. चन्द्रचुडको संयुक्त इजलासले ती दुई मुद्दालाई एकसाथ पेश गर्न आदेश दिएको हो । समान प्रकृतिका ती दुई मुद्दाको सुनुवाई अब एकैपटक हुनेछ ।
अक्षय प्रधान र माणिक सेठीले दायर गरेको मुद्दामा सुनुवाई गर्दै इजलासले उक्त आदेश जारी गरेको हो ।
निवेदकहरूले भारतका नेपालीभाषीको मर्यादा र आत्मसम्मानलाई चोट पु-याउने काम गर्नबाट सरकार, गैरसरकारी संस्था र व्यक्तिहरूलाई रोक्ने गरी तत्काल हस्तक्षेप गर्न अदालतलाई अनुरोध गरेका छन् ।
असोज १९ गते प्रधान र सेठीले भारत सरकार र एक निजी कम्पनीविरुद्ध उक्त मुद्दा दायर गरेका थिए । प्रधान र सेठी कानूनका विद्यार्थी हुन् ।
यसअघि श्री गुरद्वारा प्रबन्धक समितिले सर्वोच्च अदालतमा निवेदन दिँदै शिख समुदायको भावना र आत्मसम्मानलाई चोट पु-याउने ‘सरदारजी’ जोक र अन्य कार्यमाथि प्रतिबन्ध लगाउनका लागि आदेश जारी गराइपाऊँ भनी अनुरोध गरेका थिए ।
प्रधान न्यायाधीशसमक्ष बहस गर्दै प्रधानले भने, ‘कुनै पनि समुदायलाई चोट पु—याउने गरी बोल्नु वा लेख्नु भारतीय संविधानको बर्खिलाफ हुन्छ ।’
‘भारतमा रहेका लाखौं नेपालीभाषीका लागि यो मुद्दाको महत्व छ । यो उनीहरूको भाग्य, मर्यादा र आत्मसम्मानको सवाल हो । उनीहरू भारत र यसको संविधानप्रति अरू समुदायका मानिसजत्तिकै बफादार छन्,’ उनले थपे ।
अर्का निवेदक सेठीले इजलासलाई गोर्खा शब्द, नेपाली टोपी र खुकुरीको नियमित दुरुपयोगका बारेमा जानकारी गराए ।
नेपालीको धार्मिक, सामाजिक र सांस्कृतिक प्रतीकलाई पैसाका लोभी मान्छेले चलचित्र र विज्ञापनहरूमा अपमान गर्ने गरेको उनले तर्क गरे ।
उनले भने, ‘नेपाली वा गोर्खालीहरूलाई दिमाग नभएका अनि अर्काको ढोकामा उभिन लायक मान्छेका रूपमा मात्र प्रस्तुत गरिन्छ । यस्ता कार्यले मर्यादा र आत्मसम्मानका साथ बस्न पाउने नेपालीहरूको आधारभूत अधिकारको गम्भीर उल्लंघन हुन्छ ।’
दुवै मुद्दाको पेशी सम्भवतः पुस १८ गते चढ्नेछ ।