
विराटनगर – विराटनगरको कञ्चनवारीदेखि विमानस्थलको मुख्य गेटसम्मको सडक निर्माणको काम तीब्र पारिएको छ ।
विराटनगर महानगरपालिकाको विमानस्थल मार्ग स्तरोन्नती परियोजना अन्तर्गत दोहोरो नाली निर्माण र पिच निर्माणको कामले तीब्रता पाएको हो ।
करीब १ वर्षअघि नै निर्माण शुरू गरिएको नाली र टाली बिछ्याउने काम सकिएको लामो समयपछि पिच निर्माणको कामले तीब्रता पाएको हो ।
विराटनगर महानगरपालिकाको ३ करोड २९ लाख ८० हजार ४ सय ४१ रुपैयाँ लागत रकम छुट्याइएकोमा २ करोड ५९ लाख ७१ हजार १ सय ३५ रुपैयाँको लागतमा काम सक्ने सम्झौता भएको हो । २०७३ चैत ३ गते भएको ठेक्का सम्झौता अनुसार २०७५ जेठ मसान्तसम्म सकिसक्नुपर्नेमा बल्ल पिच निर्माणको कामअघि बढेको हो ।
विराटनगर–१३ को गीताञ्जली जोशीला जेभीले ठेक्कामा लिएको लामो समयपछि निर्माणको काम अन्तिम चरणमा पुर्याएको हो । १ वर्षसम्म आलटालमा नै बिताएको निर्माण कम्पनीले अबको १ महिनाभित्रै निर्माण पूरा गरी विराटनगर महानगरपालिकालाई बुझाउने तयारी गरेको छ ।