०१ असार २०८३, सोमबार

पर्यटन कार्यालयको बेजटमा अनियमितता, ३ जनाविरुद्ध साढे ५ लाखको भ्रष्टाचार मुद्दा दर्ता

पर्यटन कार्यालयको बेजटमा अनियमितता, ३ जनाविरुद्ध साढे ५ लाखको भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– सर्लाही, महोत्तरी, धनुषा र सिन्धुली जिल्लाको पर्यटन प्रवर्द्धन गर्न गठित विदेह मिथिला क्षेत्र समितिका पदाधिकारीले भ्रष्टाचार गरेको फेला परेको छ । 

नेपाल सरकारबाट नियुक्त भएका समितिका अध्यक्ष दीपेन्द्रकुमार यादवले आर्थिक वर्ष ०६७/०६८ मा अर्थ मन्त्रालयबाट प्रकाशित रातो कितावमा उल्लेखित बजेट अनुसार काम नगरी भ्रष्टाचार गरेको भेटिएको छ । अध्यक्ष यादवले आफू अनुकूलको उपभोक्ता समितिहरू निर्माण गरी निर्माण कार्य नै नगरी नक्कली बिल भौचर बनाइ भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट फेला परेको छ । 

उपभोक्ता समितिका अध्यक्ष ओम प्रकाश यादव समेतको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ ।  

साविक बेल्ही गाविस–२ (हाल चक्रघट्टा गाउँपालिका–२) स्थित रामजानकी मन्दिरको कम्पाउण्डवाल निर्माण, ब्रम्हस्थान ब्रम्हबाको मन्दिरको कम्माउण्डवाल निर्माणमा अनियमितता भएको हो । आर्थिक वर्ष २०६७/०६८ मा गरेका कार्यहरुको लागत इस्टिमेट, बिल भरपाइ, प्राविधिक मुल्याङ्कन तथा कार्य सम्पन्न प्रतिवेदन अनुसार कार्य नगरी, लागत अनुमानअनुसार जनश्रमदान कटाइ काम नै नगरी पर्यटन कार्यालय जनकपुरबाट बढी भुक्तानी लिएर अनियमितता गरेको भेटिएको अख्तियारले जनाएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामजानकी मन्दिर कम्पाउन्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादवविरुद्ध १ लाख ३५ हजार २ सय २९ रुपैयाँ ८२ पैसा बिगो दावी गर्दै आइतवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस्तै ब्रह्मस्थान ब्रह्मबाको कम्पाउन्डवाल निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय कुमार यादवविरुद्ध १ लाख ३१ हजार ३ सय ६५ रुपैयाँ ८२ पैसा बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । 

पर्यटन कार्यालय जनकपुरका ओभरसियर अनिरुद्र मण्डलविरुद्ध २ लाख ६६ हजार ५ सय ९५ रुपैयाँ ६४ पैसा बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्