
काठमाडौं– नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ)मा महाधिवेशनको विषयलाई लिएर बढेको विवाद झन उग्र बन्दै गएको छ ।
नेवि संघको महाधिवेशनको माग गर्दै आएको महामन्त्री कुन्दन राज काफ्लेको समूहले पार्टी नेतृत्व (सभापति शेरबहादुर देउवा)का कारण महाधिवेशन अन्यौल बन्दै गएको भन्दै पार्टी कार्यालयमा नै विरोध प्रदर्शन गरिरहेको छ ।
यसबीच आइतवार महामन्त्री काफ्लेले एक विज्ञप्ती जारी गर्दै तत्काल १२ औं महाधिवेशनको सुनिश्चितताको पक्षमा निर्णय लिन पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।
गत भदौ २३ देखि २५ गतेसम्म बसेको नेवि संघ केन्द्रीय समितिको वैठकले सर्वसम्मत रुपमा पारित गरेको विधान पार्टीद्वारा स्वीकृत नगरी अन्यौलको भूमरीमा राख्ने काम भएको काफ्लेले आरोप लगाएका छन् । महाधिवेशनको पक्षमा आवाजा उठाउँदा उठाउँदै पनि पार्टी नेतृत्वले टिके प्रथाबाट दास जन्माउन खोजेको काफ्लेको भनाइ छ ।
उनले आफ्नै संगठनका अध्यक्ष नैनसिंह महरको अलमलका कारण पनि नियमित कार्यकाल र थपिएको (३ महिना)को समयमा समेत महाधिवेशन हुन नसकेको काफ्लेले आरोप लगाएका छन् ।
काफ्लेले नेवि संघमा आफूहरुलाई रोक्ने गलत नियतका साथ ३२ वर्षे उमेरहदको व्यवस्था गर्न खोजिएको भन्दै पार्टीमा पनि ७० वर्षे उमेर हदको व्यवस्था लागू गर्न माग गरेका छन् ।
