२४ असार २०८३, बुधबार

युवक हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको भन्दै धनगढीमा प्रदर्शन

मंसिर ३, २०७५
युवक हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको भन्दै धनगढीमा प्रदर्शन

धनगढी – युवक हत्या घटनामा संलग्नलाई उन्मुक्ति दिन खोजेको भन्दै विरोध स्वरुप सोमवार धनगढीमा प्रदर्शन गरिएको छ ।

गत शुक्रबार राति धनगढी उपमहानगरपालिका–४ का ३० वर्षीय विजय थापाको हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजिएको भन्दै स्थानीयले संघर्ष समिति नै गठन गरेर विरोध स्वरुप प्रदर्शनमा उत्रिएका हुन् ।

प्रहरीले घटनास्थलबाट थापाको शव घिसार्दै गरेको अवस्थामा उपमहानगरपालिका–४ कै आशिष सेठीलाई पक्राउ गरेको थियो । सेठीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्तापछि प्रहरीले थप अनुसन्धानको लागि जिल्ला अदालत कैलालीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान बढाएको छ ।

तर मृतक थापाको हत्या नभई उनीहरू बसेको होटल कलशको छतबाट खसेर मृत्यु भएको भन्दै अभियुक्त सेठीले प्रारम्भिक बयान दिएपछि र थप संलग्नबारे प्रहरीले चासो नदिएको भन्दै पीडित परिवारले संघर्षमा उत्रेका हुन् ।

मृतककी आमा सीता थापाले रङ्गेहात पक्राउ परेको व्यक्ति नै हत्यारा भएको दाबी गर्दै प्रहरी प्रशासनले उन्मुक्ति दिन खोजेको आशंका व्यक्त गरिन् । मृतकका परिवारले अझैसम्म शव बुझ्न मानेका छैनन् ।

संघर्ष समितिले हत्यारालाई कारवाही नगरिए कडा संघर्ष गर्ने चेतावनी समेत दिएको छ । सोमवार प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको संघर्ष समितिले आफूहरूको माग सुनुवाइ नभए मंगलवार कैलाली जिल्ला बन्दको घोषणा समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यवाहक प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक हरि ओलीले अभियुक्त नियन्त्रणमा रहेको थप अनुसन्धान जारी रहेको अवस्थामा विभिन्न संघर्ष गर्नुपर्ने अवस्था नरहेको बताए । आफूहरू घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको बताउँदै उनले हत्यारा कुनै पनि हालतमा उन्मुक्ति नपाउने ठोकुवा गरे ।

प्रहरीकै अनुसार मृतक थापा र अभियुक्त सेठी लागूऔषधका प्रयोगकर्ता एवं कारोबारी हुन् । उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी समेत परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्