
काठमाडौं –वैज्ञानिक चेत र सामथ्र्य बोकेका विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीको प्रतिभालाई उचित अवसर र वातावरण प्रदान गर्ने उद्देश्यले आयोजित युवा वैज्ञानिक सम्मेलन २०१८ सम्पन्न भएको छ ।
नेपाल पोलिमर इन्स्टिच्यूटको आयोजना तथा युनिग्लोव माध्यमिक विद्यालय तथा कलेजको सहआयोजनामा युनिग्लोव मावि तथा कलेजमा मंसिर १ र २ गते भएको सम्मेलनमा २० वटा विद्यालयको सहभागिता रहेको थियो ।
सम्मेलनले देशको समृद्धि र वातावरण संरक्षणमा सहयोगी बन्न सक्ने ५ वटा विधागत विषयबाट ६ वटा अवधारणालाई उत्कृष्ट ठहर गरेको थियो ।
जीव तथा रसायन विज्ञान, गणित र वातावरण विज्ञानतर्फको अवधारणामा युनिग्लोव मावि तथा कलेज कमलादी काठमाडौं, इन्जिनियरिङ तथा रोबोटिक्सतर्फको अवधारणामा अमरसिंह स्कूल पोखरा र बृहस्पती विद्यासदन काठमाडौं र भौतिक विज्ञानतर्फको अवधारणामा हेटौडा स्कूल अफ मेनेजमेन्ट उत्कृष्ट भएका थिए ।

आयोजकका अनुसार उत्कृष्ट ५ वटै अवधारणाले आगामी डिसेम्बर १५ मा थाइल्याण्डमा हुन गइरहेको एसिया प्यासिफिक यङ साइन्टिस्ट समिटमा सहभागिता जनाउने छन् ।