०४ साउन २०८३, सोमबार

सरकारले जनवादी केन्द्रीयताको चरित्र देखायो : प्रकाशमान

सरकारले जनवादी केन्द्रीयताको चरित्र देखायो : प्रकाशमान

प्यूठान-  नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विकास बजेट खर्च गर्न नसक्ने वर्तमान सरकार परिणामविहीन बन्दै गएको आरोप लगाउनुभएको छ । 

बाग्दुलामा प्रेस यूनियनद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “समृद्धिको नारा दिने सरकारसँग काम गर्न सक्ने क्षमता नभएकाले परिणामविहीन भएको हो ।” पूर्वउपप्रधानमन्त्री सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप लगाउनुभयो । 

संविधानमा उल्लिखित अधिकारहरु कानून बनाएर काम गर्नुपर्नेमा नौ महीना बितिसक्दा पनि विधेयक संसद्मा पेश गर्न नसक्ने सरकारप्रति जनताको आशा घट्दै गएको उहाँको भनाइ छ । यातायातको एकाधिकार, सुनकाण्डजस्ता घटनाको संरक्षणमा सरकार नै लागेको उहाँले आरोप लगाउनुभयो । सबै विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर सरकारले जनवादी केन्द्रीयताको चरित्र देखाएको भन्दै विरोध गर्नुभयो । 

नेता सिंहले भन्नुभयो, “तत्कालीन देउवा सरकारले जनताको चित्त बुझ्ने खालको काम गर्न नसकेकै कारण पार्टीले तीनै तहको निवार्चनमा हार बेहोर्नु परेको हो ।” बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको उहाँको भनाइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्