
धनगढी-यहाँ भएको निस्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको तेस्रो संस्करणको उपाधि घरेलु टोली लिटिल फ्लावर बोर्डिङ स्कूल धनगढीले जितेको छ ।
आज भएको फाइनलमा महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई सात विकेटले पराजित गर्दै लिटिल फ्लावरले पहिलो पटक उपाधि जितेको हो । पहिलो पटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कूल धनगढीले उपाधिसँगै रु एक लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेता बनेको लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले रु ५५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
यहाँस्थित सङ्घीय प्रहरी कार्यालयको खेलमैदानमा आज भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले २० ओभरमा तीन विकेट गुमाउँदै १४५ रनको योगफल बनायो । लिटिल बुद्धका लागि हेमन्त कार्कीले अविजित ७३, नारायण जोशीले ३३ र सुशील खड्काले १९ रन बनाए । लिटिल फ्लावरका शेर मल्लले दुई तथा सागर भण्डारीले एक विकेट लिए । १४६ रनको विजयी लक्ष्य लिटिल फ्लावर स्कूल धनगढीले १८ दशमलब एक ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो ।
लिटिल फ्लावरलाई उपाधि दिलाउने क्रममा कप्तान विपिन रावलले उत्कृष्ट ७९ रनको जोडे । उनले ४१ बलमा ११ चौका र एक छक्का प्रहार गरेका थिए । दीपक रोकायाले अविजित २४, अनिल थापा र विशाल भट्टले १४÷१४ रन बनाए । लिटिल बुद्धका लागि नारायण जोशीले दुई विकेट लिएका थिए । गत कात्तिक २७ गतेदेखि शुरु भएको प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज‘ नेपाली अण्डर १९ टोलीका सदस्य शेर मल्ल, ‘बेस्ट ब्याटसम्यान’ सिद्धार्थ शिशु सदनका खड्क बोहोरा, ‘बेस्ट बलर’ लिटिल बुद्ध एकेडेमीका रोचक ऐर र ‘राइजिङ प्लेयर’ लिटिल फ्लावर स्कूल धनगढीका विशाल भट्ट बने । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १० हजार, उत्कृष्ट ब्याटसम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु पाँच–पाँच हजार प्राप्त गरे । प्रतियोगितामा देशभरिका विभिन्न १२ क्रिकेट टोलीले भाग लिएका थिए ।
डिपिएलको निर्देशकमा दास
आगामी माघ १९ देखि फागुन ४ गतेसम्म यहाँ आयोजना हुने ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) प्रतियोगिताको निर्देशकमा राष्ट्रिय क्रिकेट टोलीका निवर्तनमा कप्तान एवं यू—१९ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दासलाई नियुक्त गरिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।