काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले सत्यनिरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगबाट काम सम्पन्न नभएको देख्दा आफूलाई आश्चर्य र दुःख लागेको गुनासो पोखेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म किन भएन ? मलाई आश्चर्य लागेको छ । आयोगले आफ्नो छानबिनको काम पूरा गर्नेछ, द्वन्द्वबाट पीडितहरुले संक्रमणकालिन न्याय पाउनेछन्, र त्यसपछि कसैलेपनि द्वन्द्वकालमा हामीले भोग्नुपरेको यो पीडा त्यसले निकास पाएका छैनन् भन्ने गुनासो गर्न नपाउन भन्ने उद्देश्यबाट संविधान निर्माणको बखतमा हामीले यो आयोगको परिकल्पना गरेका थियौं । तर, आयोगले समयमै गर्नुपर्ने काम सम्पन्न नगरेकोमा म दुःखी छु ।’
नेता रावलले यी दुई आयोगले सरकारले दिएको काम अहिलेसम्म पूरा नगरेकोमा आफूलाई आश्चर्य तुल्याएको सुनाए । उनले भने,‘आयोगलाई दिईएको काम अहिलेसम्म पूरा गरेन् । किन काम गर्न सकेन ? मलाई आश्चर्य र दुःख लागेको छ । यदि आयोगहरुलाई कुनै कानुनी तथा व्यवहारिक समस्या छ भने त्यो सरकारलाई भन्नुपर्यो । होईन भने काम किन अघि बढेन ? यदि समस्या छ भने के समस्या हो, त्यसतर्फ सरकारले पनि ध्यान देओस् ।’
मुलुकमा अहिले आफ्नै पार्टीको झण्डै दुई तिहाई बहुमतको सरकार रहेको र प्रदेशमा पनि ६ वटै प्रदेशमा नेकपाको बहुमतको सरकार रहेको सुनाउँदै उनले भने,‘अब कुनैपनि प्रकारको द्वन्द्व छैन । र, कसैले कानुन उल्लंघन गरे, संविधान उल्लंघन गरे भने यो त कानुनी शासन हो नि। कानुनबमोजिम सम्बन्धित समूह व्यक्ति जानुपर्छ। त्यो दिशातर्फ सरकार जानुपर्छ भन्ने मेरो आग्रह छ ।’
अहिलेपनि हामी द्वन्द्वमै छौं जस्तो गरेर कतिपयले गर्ने व्यवहारप्रति आफू सहमत नभएको रावलको भनाई छ ।