
बुुटवल – आन्दोलनरत नेपाल शिक्षक महासंघले शुक्रवार ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय घेराउ गरेको छ ।
आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको र पटक–पटक ध्यानर्कषण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि थप आन्दोलनका कार्यक्रम अन्तर्गत ५ हजार शिक्षक–कर्मचारीले मन्त्रालय घेराउ गरेका हुन् ।
प्रदेश अन्तर्गत पर्ने १२ जिल्लाका शिक्षकले बिहान ११ बजे बजारमा प्रदर्शन गरी मन्त्रालय घेराउ गरेका हुन् । प्रदर्शन गरिएपछि प्रहरीले व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ ।
शिक्षक महासंघका प्रदेश संयोजक प्रेम भण्डारीले शिक्षकका माग पूरा नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । शिक्षक महासंघले विभिन्न २६ सु त्रीय माग राख्दै पटक–पटक सरकारको ध्यानर्कषण गराउँदै आएको छ । महासंघ तेस्रो चरणको आन्दोलनमा रहेको छ ।

महासंघले रुपन्देही जिल्लामा रहेका सबै सामुदायिक विद्यालय समेत बन्द गर्दै आन्दोलनमा सहभागिता जनाउन सबैलाई आग्रह गरेको छ । महासंघले शिक्षा सम्बन्धी स्थानीय तहमा आफूखुशी ऐन तथा कानून बनाउने र लागू गर्न खोज्ने कार्यलाई रोक्न स्थानीय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तिमा १० वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकलाई सामूहिक पदोन्नतिको व्यवस्था गरिनुपर्ने माग राखेको छ ।
तत्कालीन उच्च माविमा कार्यरत शिक्षकको दरबन्दीको प्रबन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने, राहात शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गरी दरबन्दीमा कार्यरत शिक्षकको स्थायित्वको लागि प्रक्रिया अघि बढाउनुपर्ने लगायत माग छ ।