
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने निर्णय गरेको छ । नयाँ बन्ने विशेष जिल्ला कमिटीहरू अबदेखि छुट्टै विशेष प्रदेश कमिटीको हैसियतमा कमिटी गठन गरी त्यसको मातहतमा परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले भने, “प्रतिवेदनमाथि छलफल भयो । छलफल र सुझावका आधारमा आवश्यक पुनर्विचार गरी प्रतिवेदनलाई टुङ्गो लगाएको छ । टुङ्गो लागेको प्रतिवेदनलाई सचिवालयका तर्फबाट स्थायी समितिमा प्रस्तुत गर्ने निर्णय भयो ।” प्रवक्ता श्रेष्ठले प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरण र कार्यविभाजन हुने जानकारी दिए ।
वाइडबडी विमान खरिदका कागजात उपलब्ध गराउने पर्यटनमन्त्रीको प्रतिबद्धता
संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदका कागजात संसदीय समितिलाई बुझाउने प्रतिवद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा सांसदहरुले वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै खरिद प्रकरणका कागजपत्रहरु माग गरेपछि मन्त्री अधिकारीले २४ घण्टाभित्र बुझाउने प्रतिवद्धता जनाएका हुन् ।
सार्वजनिक चासोको विषयमा संसदीय समितिमा छानबिन हुनु सकरात्मक भएको भन्दै उनले समितिबाट हुने छानबिनमा मन्त्रालयको पूर्ण सहयोग हुने जानकारी गराए । आफू मन्त्री हुँदा उक्त विमान खरिद प्रक्रिया पूरा भइसकेको तर, त्यसको नैतिक जिम्मेवारी लिने भन्दै मन्त्री अधिकारीले अरु दोषी देखिए पनि कारबाही गर्ने बताए ।
निवृत्तिभरणसहितको सामाजिक सुरक्षा कार्यक्रम लागू गरिँदै
आर्थिक तथा सामाजिक रूपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सरकारले निवृत्तिभरणसहितको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउने घोषणा गरेको छ । नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम यही मङ्सिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभर लागू भएको घोषणा गर्नुहुनेछ । यो कार्यक्रममा समावेश हुनेले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् ।
योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारलाई प्राप्त हुने सुविधाअन्तर्गत निजको पति वा पत्नीलाई योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले मासिकरूपमा जीवित रहेसम्म निवृत्तिभरण र निजको १८ वर्ष उमेर पूरा नभएको सन्ततिलाई १८ वर्षको उमेरसम्म ४० प्रतिशत सन्तति शैक्षिक वृत्ति पाउने व्यवस्था छ ।
क्यानडा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्यानडा पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई शुक्रबार पुतलीसडकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, बकैया गापा–९ की सुनिता तिवारी बाइवा रहेकी छने ।
क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाई दिएर भारतसम्म पु¥याई पीडितबाट प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म रकम लिई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । बाइवालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
सम्हालिन छाडे निर्मलाका बुबा
छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै १३ दिनदेखि धर्नामा बस्दै आएका बुबा यज्ञराज सम्हालिन नसक्ने अवस्थामा पुगेका छन् । शारीरिक रूपमा कमजोर उनी मानसिक रूपमा पनि विक्षिप्त भएका छन् । केही दिनदेखि उनले अस्वाभाविक व्यवहार देखाउन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलगेटमा अनिश्चितकालीन धर्नामा रहेका यज्ञराज छिनछिनमै हाँस्ने, गाली गर्ने र रुने गर्न थालेका छन् । सरकार र प्रहरी प्रशासन मात्रै होइन, आफूसँगै धर्नामा बसेका अधिकारकर्मी र पत्रकारलाई पनि उनले गाली गर्छन् । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको नामै लिएर गाली गरेका छन् । उनको मानसिक स्वास्थ्यमा समस्या आएको भन्दै अधिकारकर्मीहरूले चिन्ता जनाएका छन् ।
‘मलाई पनि गाली गर्नुभयो । उहाँको स्वास्थ्य निकै बिग्रिएको छ,’ नागरिक संघर्ष समिति कञ्चनपुरकी संयोजक मीना भण्डारीले भनिन् । अधिकारकर्मीहरूले धर्ना स्थगन गरेर आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने राय राखेका छन् । यज्ञराजको उपचारका लागि आफन्तलाई प्रशासनले पटक–पटक आग्रह गर्दै आएको छ । ‘हामीले यज्ञराजको उपचारका लागि आग्रह गर्दै आएका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले भने, ‘आफन्तले छलफल गरेपछि प्रशासनलाई खबर गर्छौँ भनेका छन् ।’
शुक्रबार यज्ञराज एक्कासि धर्नास्थल छाडेर दौडिएर महेन्द्रनगर बजारसम्म पुगे । चिच्याउँदै र जथाभावी बोल्दै दौडिएका उनको पछिपछि अधिकारकर्मीहरू पनि लागे । बजारबाट अधिकारकर्मीहरू निर्मला भट्ट जोशी, लक्ष्मी मल्ल र शान्ता पोखरेलले प्रहरीको सहयोगमा उनलाई धर्नास्थलमा फर्काए ।, नयाँ पत्रिकामा खबर छ ।
एसियाली विकास बैंकको असन्तुष्टि
एसियाली विकास बैंक (एडिबी) ले नेपालमा सञ्चालित आयोजनाको प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै असन्तुष्टि व्यक्त गरेको छ । दक्षिण एसियाका लागि एडिबीका उपमहानिर्देशक दिवेश शरणले नेपालमा सञ्चालित आयोजनाहरुको कार्य सम्पादन सन्तोषजनक नरहेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
शुक्रबार काठमाडौंमा भएको त्रिपक्षीय समीक्षा बैठकमा बोल्दै उनले नेपालको उड्डयन र सरसफाईसम्बन्धी आयोजना कार्यान्वयन क्षमतामाथि पनि प्रश्न उठाए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामको प्रगति राम्रो भएपनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कामअघि बढ्न नसकेकोमा एडिबीको असन्तुष्टि छ ।
घाइतेको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने
डडेलधुरा बस दुर्घटनाका घाइतेको सम्पूर्ण उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले ब्यहोर्ने भएको छ । दुर्घटनामा घाइते भएकालाई भेट्न शुक्रबार सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पताल पुग्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बस दुर्घटनाका घाइतेहरूको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने घोषणा गरे ।
सो अवसरमा उनले उपचारमा कुनै कमी नगर्न चिकित्सकलाई निर्देशन पनि दिए । केआइसिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार साँझ दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए ।
सङ्कटाको लगातार तेस्रो जित
सङ्कटा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएप) क्लबको मैदानमा शुक्रबार भएको खेलमा सङ्कटाले मछिन्द्र क्लबलाई २–० गोेलअन्तरले हराएको हो ।
सङ्कटा तीन खेलमा नौ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान तीन खेलबाट नौ अङ्क जोडेको मनाङ मस्याङ्दी क्लब गोल अन्तरका आधारमा पहिलो स्थानमै छ । मछिन्द्रले तीन खेलबाट दुई अङ्क जोडेको छ ।
शनिबार दुई खेल हुँदैछन् । हल्चोक मैदानमा फ्रेन्ड्स क्लब र सरस्वति युथ क्लबबीच तथा सोही मैदानमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । शनिबारदेखि तेस्रो चरणका खेल समाप्त हुनेछन् । मङ्सिर १० गतेदेखि लिगको चौथो चरणका खेल हुनेछन् ।