काठमाडौं–जनमुक्ति सेना कल्याण संघ–२००७ नेपालले वर्तमान सरकारले २००७ सालमा प्रजातन्त्रको लागि लडेका र उक्त आन्दोलनमा वीरगति प्राप्त गरेका मुक्ति सेनाहरुलाई सहिद घोषणा गर्न माग गरेको छ ।
शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जनमुक्ति सेना कल्याण संघ–२००७ नेपालले यस्तो माग गरेको हो । आन्दोलनमा सरिक भएका र जीवित मुक्ति सेनालाई वर्तमान सरकारले यथाशक्य चाँडो राष्ट्रिय सम्मान गर्नुपर्ने पनि माग गरिएको छ ।
कार्यक्रममा बोल्दै उक्त आन्दोलनका जीवित मुक्ति सेना कमाण्डर श्याम कुमार तामाङले आफूहरुलाई राज्यले उपेक्षा गरेको गुनासो पोखे । उनले भने,‘नेपाली कांग्रेसले पनि धेरैपटक सरकारको नेतृत्व गर्दै आईरहेको छ, तर उसले पनि हाम्रा जायज मागहरु अहिलेसम्म पूरा गरेन । कांग्रेसले हामीलाई खोलो त¥यो, लौरो बिर्सिएजस्तै गर्यो । यो अत्यन्तै दुःखदायी कुरा हो । ७० वर्षसम्मपनि राज्यबाट हाम्रा मागहरुका बारेमा कुनै सुनुवाई भएन । अब पनि सुुनुवाई भएन भने हामी निकै दुःखी हुनेछौं ।’
यसअघिका सरकारले आफूहरुको मागका बारेमा कुनै सुनुवाई नगरेपनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भने सुनुवाई गरिदिन्छ कि भन्ने झिनो आशा पलाएको उनले विश्वास व्यक्त गरे ।
जनमुक्ति सेना कल्याण संघ–२००७ नेपालकी उपाध्यक्ष एवम् मुक्ति सेनाका कमाण्डर नारदमणि थुलुङकी छोरी सुधा थुलुङको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कमाण्डर तामाङले थपे,‘वर्तमान प्रधानमन्त्री ओली नेतृत्वको सरकारले हाम्रा माग पूरा गर्नुपर्छ । म यही मञ्चबाट जोडदार माग गर्दछु कि अब ढिला नगरी हामीलाई राज्यले सम्मान गरोस् । म अहिले ९० वर्षको भएँ । मसँगै लडेका दुई चार जना साथीहरु अहिलेपनि जीवितै हुनुहुन्छ । हामी जीवित कमाण्डरहरुको मृत्यु अगावै राज्यले हामीलाई उचित सम्मान गरे हामी खुशी–खुशी मर्ने थियौं ।’