
धनगढी– छोरीको न्यायका लागि धर्नामा बसेका कञ्चनपुरकी निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई उपचारका लागि काठमाडौं पठाइएको छ । विमानबाट पठाउने प्रयास असफल भएपछि उनलाई बेहोस बनाएर काठमाडौं पठाइएको हो ।
असामान्य व्यवहार देखाएपछि पन्तलाई सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत काठमाडौं पठाइएको हो । यसअघि उनलाई विमानबाट काठमाडौं पठाउने तयारी भएको थियो ।
विमानस्थलमा बर्बराउने, मनपरी हिँड्ने लगायतका असामान्य व्यवहार देखाएपछि सुरक्षाको कारण देखाउँदै पन्तलाई विमान कम्पनीले लैजान नमानेपछि गाडीबाट पठाउनु परेको हो । सुरक्षाका कारण विमानबाट काठमाडौं पठाउन नसकिएपछि जिप भाडामा लिएर पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।
उनका साथमा श्रीमती र दुईजना आफन्तलाई पनि गाडीबाट काठमाडौं पठाइएको छ । यसअघि चारै जनालाई बुद्ध एयरको बेलुकीको उडानबाट काठमाडौं पठाउने प्रयास गरिएको थियो तर विमानका कर्मचारीहरुले यज्ञराजलाई लैजान नसकिने बताएका थिए ।
गत साउन १० मा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।