२९ जेठ २०८३, शुक्रबार

मेरो जिन्दगी यस्तो होस् !

मेरो जिन्दगी यस्तो होस् !

अच्युत शाली घिमिरे

कृष्णजीको नाभीमा फुलेको 

कमल फूल जस्तै

मेरो जिन्दगी

प्रफुल्लित होस्

सुन्दर र दिव्य होस्।

सपना नदेख्ने मानिसहरु 

कमै होलान् यो संसारमा

तर पनि म जन्मिएपछि 

मैले जिउने जिन्दगी

वक्ष-स्थलमा दूध चुसिरहेको शिशुको

जस्तै अबोध होस्

मैले फेर्ने हरेक श्वासहरुमा

त्यो मुस्कान होस्

मैले हेर्ने हरेक साझहरुमा

त्यो लाली होस्।

हरेक चोकमा उभिने 

शालिक जस्तै

मेरो जिन्दगी आकर्षित होस्,

हावामा पनि तैरिदिने

आहा मेरो जिन्दगी हैवाइजहाज होस्,

किसानको पसिना मग्मगाउने

माटोको सौन्दर्य होस् मेरो जिन्दगी,

प्रकृतिको फूलबारीमा जग्मगाउने

वसन्तको पुजारी होस् मेरो जिन्दगी।

विरोधको परिभाषा ओकल्ने

माइतिघरको लस्कर होस् मेरो जिन्दगी,

ढुंगाको तकियामा निदाएर

मुलायम सपना देख्ने देशभक्ति होस् मेरो जिन्दगी,

पूर्वको स्वर्ण प्रभातमा व्युझिने

प्रेम र श्रद्धाको यात्रा होस् मेरो जिन्दगी,

नि:सारमा सार भेट्ने

हृदयस्पर्शी चमत्कार होस् मेरो जिन्दगी।

पत्थरको छाती पनि पगाल्दिने

आमाको दिल होस् मेरो जिन्दगी,

जति नै पुकार समेत स्विकारी दिने

ईश्वरीय शक्ति होस् मेरो जिन्दगी!

साहित्यको आदर्शले  नै 

मानिसलाई बचाएको छ

यहि साहित्यिक छालमा 

बहकिने

उफ् देवकोटाको अनुपम कविता होस्

मेरो जिन्दगी।।

जुनियर इन्टर्न, चिकित्सा शास्त्र अध्ययन संस्थान

salt training

कमेन्ट गर्नुहोस्