
धनगढी- विगत १२ वर्षदेखि धनगढीमा नियमित आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सव चालु वर्ष निर्धारित समयावधिमा नहुने भएको छ ।
फर्जी मतदाताको विषयमा विवाद उत्पन्न भएपछि नियमित रुपमा मंसिर २२ देखि पुस २ गतेसम्म आयोजना हुँदै आएको महोत्सव नहुने भएको हो ।
महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघको फर्जी मतदाताको बिषयमा केहि व्यवसायीहरुले उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए ।
रिटको सुनुवाई गर्दै अदालतले सदस्यता छानबिन र त्यसपछि संघको अधिवेसन गर्न निर्देशन दिएपछि महोत्सव आयोजना हुने मिति अनिश्चित बनेको हो । अदालतको निर्देशनपछि जिल्ला प्रसाशन कार्यालय कैलालीले टोली गठन गरेर सदस्यता छानविनको कार्य अगाडी बढाएको छ ।
छानविन समितिले एक हप्ताभित्र सम्पन्न गर्ने समय सीमा पाएको छ । भने मंसिर २५ गतेभित्रै अधिवेसन गर्ने लक्ष्य लिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले जानकारी दिए । अधिवेसन र महोत्सववारे आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बोगटीले पुरानै समितिले महोत्सव आयोजना गर्न पहल गरेपनि कार्य समितिले नमान्दा निर्वाचनपछि महोत्सव आयोजना गर्ने बताए ।
सुदूरपश्चिम महोत्सव पर्व जस्तै स्थापित भएको बताउदै उनले जनचासो बढी भएकोले केही ढिला भएपनि महोत्सव आयोजना गर्ने तयारी भएको उल्लेख गरे । त्यस्तै, संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले महोत्सव पर्वको रुपमा स्थापित भएकोले केहि समय ढिलो भएपनि आयोजना गर्नुपर्नेमा जोड दिए । महोत्सव यस क्षेत्रको आर्थिक, सामाजिक र विकास संग जोडिएकोले आयोजना हुने उनले बताए ।
२०६३ सालमा कैलाली महोत्सवको नामले महोत्सव आयोजना गरिएको थियो । त्यसपछि २०६४ देखि नियमित रुपमा सुदूरपश्चिमको नामले महोत्सव आयोजना हुँदै आएको हो ।