
काठमाडौं — फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले निम्न आय भएका व्यक्तिहरूको क्रोधको प्रस्ट उत्तर सरकारले दिनुपर्ने बताएका छन् ।
इन्धनको मूल्य बढेपछि विरोधकर्ताहरूले राजधानी पेरिसमा प्रदर्शन गरिरहेका छन् । सम्भ्रान्त राजनीतिक वर्ग यथार्थबाट टाढा रहेको पनि उनीहरूको गुनासो छ ।
सरकारले डीजेल र पेट्रोलको मूल्यवृद्धि फिर्ता नलिने संकल्प लिएको छ । फ्रान्सभरि सर्वसाधारण यही मूल्यवृद्धिको विरोध गरिरहेका छन् ।
राष्ट्रपति म्याक्रोंका नीतिहरूले धनीलाई फाइदा गरिरहेको आरोप लगाउँदै विरोध भइरहेको छ । अनि असमानताविरुद्ध पनि उनीहरू आक्रोशित छन् ।
ब्रसेल्समा पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोंले सरकारका तर्फबाट प्रस्ट उत्तर आउनुपर्ने बताए । पेट्रोलको मूल्य बढ्दै गर्दा त्यसको प्रभाव न्यूनीकरण गर्ने विषयमा केही उपाय सुझाउनका लागि म्याक्रोंले अर्को हप्ता छलफल चलाउने अनुमान गरिएको छ ।
तर सडक प्रदर्शनहरूमा नझुक्ने राजनीतिक पहिचान बनाएका म्याक्रोंले इन्धनको मल्यवृद्धि फिर्ता नलिने अपेक्षा छ ।
हजारौं प्रदर्शकारीहरू शनिवार शम्श दलीसीमा भेला भएर फ्रान्सेली राष्ट्रिय गान गाएका थिए अनि म्याक्रोंको राजीनामा मागेका थिए । उनीहरूले पहेंलो टल्किने भेस्ट लगाएकाले उनीहरूलाई गिलेट्स जउनेस् अर्थात् पहेंलो भेस्टहरू
भनी चिनिन्छ ।
शनिवार राति प्रहरी अवरोधहरूमा आगो लगाइयो, विलासी पसलहरूका झ्याल फुटाइए अनि ट्राफिक बत्तीहरू उखेलिए ।
घटनामा पाँच प्रहरी अधिकारीसहित २४ जना घाइते भएका छन् र १३० जना पक्राउ परेका छन् । प्र्रदर्शनकर्ताको भीडमा मिसिएका उग्रदक्षिणपन्थी हुल्लडबाजहरूले यो हिंसा गराएको सरकारले आरोप लगाएको छ ।
द गार्डियनबाट