३० असार २०८३, मंगलबार

यूपीका मुख्यमन्त्री योगी जनकपुर आउनेबारे संघीय सरकार बेखबर, प्रदेशमा स्वागतको तयारी

मंसिर १०, २०७५
यूपीका मुख्यमन्त्री योगी जनकपुर आउनेबारे संघीय सरकार बेखबर, प्रदेशमा स्वागतको तयारी

जनकपुरधाम – रामजानकी विवाह पञ्चमी महोत्सवमा जन्ती बनेर भारतको उत्तरप्रदेश (यूपी) का मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउनेबारे संघीय सरकार मातहतका निकाय बेखबर देखिएका छन् ।

संघीय सरकारको स्थानीय प्रतिनिधिको रूपमा रहेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रदिपराज कणेलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणबारे संघीय सरकारमार्फत् हालसम्म स्थानीय प्रशासनलाई कुनै पनि जानकारी नगराइएको बताए ।

भारतका ‘भीआईपी’को जनकपुर भ्रमणबारे परराष्ट्र मन्त्रालय हुँदै गृह मन्त्रालयमार्फत् औपचारिक जानकारी आउनुपर्नेमा हालसम्म कुनै पनि परिपत्र नआएको सीडीओ कणेलले बताए । तर भारतको कुटनीतिक तहका विशिष्ट पदाधिकारीको जनकपुर भ्रमणका क्रममा योगी आदित्यनाथ विवाह पञ्चमीमा जन्ती बनेर सहभागी हुने कार्यक्रम रहेकोबारे मौखिक रुपमा जानकारी गराइएको बताए ।

‘भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत बिसी प्रधान र काठमाडौंस्थित भारतीय राजदूतावासका उच्च तहका पदाधिकारीले भेटेर मौखिक रूपमा योगीको भ्रमणबारे जानकारी गराएका छन्,’ सीडीओ कणेलले भने, ‘सोही अनुसार मैले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छु ।’

औपचारिक जानकारी संघीय सरकारबाट पछि प्राप्त हुने भएपनि योगी आदित्यनाथको भ्रमणबारे सुरक्षा व्यवस्थाको लागि आन्तरिक तयारी पनि शुरू गरिसकिएको उनले बताए । उनले भने, ‘भ्रमणमा आउन कसैले पनि उहाँलाई आमन्त्रण गरेको भन्नेबारे जानकारी प्राप्त हुन सकेको छैन । तर उहाँको भ्रमण विशुद्ध रूपमा धार्मिक र सांस्कृतिक मात्र हुने अहिलेसम्म बताइएको छ ।’

योगीको भ्रमणलाई राजनीतिक भ्रमण समेत बनाउनेबारे प्रदेश सरकारले आन्तरिक तयारी थालेपनि त्यसबारे संघीय सरकारको परराष्ट्र मन्त्रालयले हालसम्म कुनै पनि किसिमको जानकारी गराएको छैन । रेलको पूर्वाधार निर्माणको काम पूर्णरूपमा सम्पन्न हुन नसकेकाले उद्घाटनको काम नरहेको सीडीओ कणेलले बताए ।

केही दिनअघि मात्र भारतीय राजदूत मञ्जिवसिंह पुरीले जनकपुरधाम आएर जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले सुरक्षा प्रमुखसँग भेट गरेका थिए । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले भने, ‘भारतीय राजदूतले उपमहानगरपालिकाको कार्यालयमा गरेको भेटवार्ताका क्रममा योगी आदित्यनाथ जन्ती बनेर आउन लागेको जानकारी गराउनुभएको थियो ।’

प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले योगीको भ्रमण र स्वागतका लागि तयारी शुरू गरेका छन् । उनले जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसँग भ्रमणको तयारी सँगसँगै हेलिकप्टर ल्यान्ड हुने स्थान रंगभूमि मैदानको समेत स्थलगत निरीक्षण गरेका छन् ।

चार्टर हेलिकप्टरमार्फत् आउने योगीको हेलिकप्टर रंगभूमि मैदानमा ल्यान्ड हुने बताइएको छ । त्यसबारे पुनर्विचार समेत हुन सक्ने सीडीओ कणेलले बताए । सुरक्षा संवेदनशीलताका आधारमा त्यसबारे अहिले धेरै कुरा खुलाउन नसकिने उनले बताए । उनको भ्रमण १ दिने कार्यक्रम मात्र हुने र स्वागत गर्न मञ्च बनाउनेदेखि अन्य कार्यक्रमको तयारी जानकी मन्दिरले गरिरहेको उनले बताए ।

जन्तीको रूपमा आउने योगीसँगै अन्य साधुसन्तलाई दिवाभोज स्वरूप भण्डारा मुख्यमन्त्रीले आयोजना गरेको सीडीओ कणेलले बताए । मंसिर २६ गते आएर स्वयम्वरमा सहभागी भई जानकी मन्दिरको दर्शन गरेर मुख्यमन्त्रीको कार्यालयमा आयोजन हुने दिवाभोजमा सहभागी भएपछि योगी फर्किने कुरा अहिलेसम्म तय भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्