
काठमाडौं — भारतको कोलकातास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जेट एयरवेजको विमान एक यात्रीका कारण उड्न पाएन ।
आतंकवादी खतराका कारण यात्रीलाई सीआईएसएफले हिरासतमा लिएको छ । विमानमा १६० यात्रु थिए ।
विमान सोमवार बिहान कोलकाताबाट मुम्बईका लागि उड्नुपर्ने थियो ।
यात्रीहरू विमान चढिसकेपछि धावनमार्गसम्म पनि पुगिसकेको अवस्थामा उड्नै लाग्दा एक यात्रुले अनुहारमा रुमाल बाँधेर सेल्फी लिए अनि स्न्यापच्याटमा शेयर गर्न सन्देश टाइप गरे – टेररिस्ट अन फ्लाइट, म महिलाहरूको दिल तोड्छु । उनले भिडियो च्याटमा बम जस्ता शब्द पनि प्रयोग गरे ।
आरोपितको नाम योग वेदान्त पोद्दार हो र उनी कोलकातामा बस्छन् । उनी जेट एयरवेजको फ्लाइट संख्या ९डब्ल्यू४७२ मा चढेका थिए ।
उनीसँगै बसेका यात्रीले उनको क्रियाकलापका बारेमा विमान कर्मचारीलाई खबर गरे । कर्मचारीले तत्कालै पाइलटलाई यसका बारेमा बताए ।
पाइलटले एटीसी र विमानसथल सुरक्षामा खटिएका सीआईएसएफका अधिकारीहरूसँग कुराकानी गरे र विमानलाई धावनमार्गबाट फेरि पार्किङमा ल्याइयो । त्यहाँ सीआईएसएफले यात्रीलाई विमानबाट निकालेर हिरासता लियो ।
सोधपुछमा आरोपितले साथीहरूको रमाइलो मात्र गरेको बताए । आफू आतंकवादी नभएको र मुम्बईमा जागिरको अन्तर्वार्ता दिन जान लागेको उनले बताए ।
सीआईएसएफले उनलाई प्रहरीकहाँ बुझाएको छ । प्रहरीले उनका पछिल्ला रेकर्डहरूको अनुसन्धान गरिरहेको छ । उनको परिवारलाई पनि प्रहरी चौकी बोलाइएको छ ।
एजेन्सी