
काठमाडौं– माघ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रणवीर’को फस्टलुक सार्वजनिक गरिएको छ ।
फस्टलुकमा चलचित्रका मुख्य नायक सुशील सिटौलालाई मात्र देखाईएको छ । नेपाली र अंग्रेजी टाइटलमा सार्वजनिक दुई पोस्टरमा सुशीललाई ‘एङग्री लुक्स’मा देखाईएको छ ।
चलचित्रका लागि सुशीलले आफ्नो तौल १५ केजी बढाएर ८५ केजी पुर्याएको बताउँछन् । तौल बढाउन नौ महिना नियमित जिम गरेको उनले बताए । दीपेन्द्र रेग्मी र गोमा विष्ट थापाको निर्माण रहेको चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् ।
एक्सन जनरामा निर्माण गरिएको चलचित्रमा सुशीलसँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मालगायतको अभिनय छ ।