
काठमाडौं–चलचित्र ‘छक्का पञ्जा ३’ प्रदर्शनको ५१ औं दिन नजिक छ । असोज २४ गतेबाट प्रदर्शनमा आएको दीपाश्री निरौला निर्देशित चलचित्रले आउँदो शुक्रबार प्रदर्शनको ५१ औं दिन पुरा गर्नेछ ।
चलचित्र प्रदर्शनका लागि अष्ट्रेलिया पुगेका निर्देशक दीपाश्री निरौला र कलाकार तथा लेखक दीपकराज गिरी ५१ औं दिन पुगेको खुसीयाली साटने तयारीका साथ मंगलबार नेपाल फर्किदैछन् । दशैँलाई लक्षित गर्दै घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको ‘छक्का पञ्जा ३’ ले सर्वाधिक व्यापार गर्ने चलचित्रको रेकर्ड बनाएको छ । चलचित्रलाई नेपाल मात्र नभई विदेशमा पनि राम्रो ब्यापार मिलेको छ ।
चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, संजोग कोइराला, शिवहरी पौडेल लगायतको अभिनय रहेको छ । जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रमा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । शिक्षा क्षेत्रमा हुने बेतिथिलाई उठाएको चलचित्रले प्रदर्शनको दिनदेखी नै उच्च व्यापार गरेको थियो ।