०८ साउन २०८३, शुक्रबार

भीभीआर्इपीको सवारीले आकाशदेखि सडकसम्म प्रभावित : जोर विजोर प्रणालीको विरोध

मंसिर १३, २०७५
भीभीआर्इपीको सवारीले आकाशदेखि सडकसम्म प्रभावित : जोर विजोर प्रणालीको विरोध

काठमाडौं– एसिया प्यासफिक समिटका कारण हवाई उडानदेखि स्थलमार्ग समेत प्रभावित हुने भएको छ । शुक्रबारदेखि काठमाडौँमा हुन लागेको समिटमा सहभागी हुन आउने भीभीआर्इपीका कारण हवाई र स्थल यातायात प्रभावित हुने भएको हो । 

समिटमा सवारी व्यवस्थापनका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान तालिका प्रभावित हुने छ । बिहीबारदेखि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको हो ।

बिहीबार बिहान ११ बजे म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्री आङसाङ सुकी र ११ः४० बजे कम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन सहितका उच्च पदाधिकारी नेपाल आउँदै छन् । उनीहरु आउनु १५ मिनेट अघिबाट बिमानस्थलका नियमित उडान बन्द हुने विमानस्थल स्रोतले जनाएको छ । उनीहरु बिमानस्थल ओर्लिएको अर्को १५ मिनेटसम्म नियमित उडान हुने छैन ।

बिहीबार काठमाडौं आउने म्यान्मारकी नेत्री सुकी र कम्बोडियाका प्रधानमन्त्री सेन होटल सोल्टीमा बस्नेछन् । उनीहरूझैं सम्मेलनमा आउने ७ सरकाररराष्ट्र प्रमुख उपप्रमुख पनि त्यही होटलमा राख्ने आयोजकको तयारी छ । समिटमा सहभागी हुन फिलिपिन्सकी उपराष्ट्रपति लेनी रोब्रेडो बुधबार काठमाडौं आइपुगेकी छन् ।

स्थलमार्ग पनि प्रभावित
यसैगरी स्थलमार्ग पनि प्रभावित हुने भएको छ । प्रहरीका अनुसार काठमाडौंको एयरपोर्ट, सिनामगंल, तिनकुने, मिनभवन, नयाँबानेश्वर, बबरमहल, माइतिघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी, हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित हुने भएका छन् । उक्त मार्ग भएर चल्ने सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

आज बिजोर नम्बरको पालो
शुक्रबारदेखि शुरू हुने एसिया प्यासेफिक समिटका लागि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । तीन देशका राष्ट्रपतिसहित ४५ देशका पाहुना आउने भएपछि उनीहरूको आवतजावतलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको हो ।

गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले आजदेखि १६ गते आइतबारसम्म जोर बिजोर प्रणाली लागू गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ बिहिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । 

जोर विजोर प्रणालीप्रति असन्तुष्टि
काठमाडौमा हुन लागेको एसिया प्यासिफिक समिटलाई लक्षित गरेर सरकारले बिहीबारदेखि जोर विजोर प्रणाली लागू गर्न लागेको प्रति केही युवाहरुले आपत्ति जनाएका छन् । युथ कंग्रेस नेपालले विज्ञप्ती जारी गर्दै १३ गते देखि १६ गते सम्मका लागि घोषणा गरिएको जोरविजोरको व्यवस्थाप्रति आपत्ति जनाएको हो । 

राज्यको कार्यक्रम नभई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोज्नु आफूहरुलाई मान्य नभएको युथ कंग्रेसको भनाई छ । युथ कंग्रेसका राष्ट्रिय संयोजक सचिन तिमल्सेनाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “राज्यसँग सम्वन्धीत कार्यक्रमका लागि मुलुकबासीले हरेक पटक जस्तोसुकै कष्ट सहेकै हो । तर अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ती बेहोर्ने ?”

अन्तर्राष्ट्रिय गैससले आयोजना गरेको कार्यक्रमका लागि लागु गरिएको जोर विजोर प्रणालीलाई युथ कंग्रेसले राज्यको गैरजिम्मेबार कदम भनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्