
काठमाडौं–सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरेपछि विरोध भइरहेको छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौं मा हुने एसिया प्यासिफिक समिटलाई ध्यानमा राख्दै जोर बिजोर प्रणाली लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
आजबाट शुरु भएको जोरबिजोर प्रणालीका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।
आज बिजोर नम्बर भएका सवारी साधन मात्र सडकमा गुडेका कारण सर्वसाधारणले सास्ती पाएका हुन् । भाडाका गाडी आधामात्र गुडेपछि सडकमा यात्रुको चाप छ भने सवारी साधनमा चढिनसक्नुको अवस्था बनेको छ । ट्याक्सीहरुले मनपरी भाडा लिएका गुनासा यात्रुहरुले गरेका छन् ।
आजै म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सु की र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं अवतरण भएसँगै उनीहरुको सवारीका लागि सडकमा सवारीमा रोक लगाइएको थियो । जसका कारण काठमाडौंको अधिकांश स्थानमा जाम भएको छ ।
गगन थापाको विरोध
यसैबीच नेपाली काँग्रेसका युवा नेता गगन थापाले जोर विजोरको अवज्ञा गर्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै थापाले लेखेका छन्,‘सही कामको लागि सरकारले आह्वान गर्दा जोर विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।’
यसअघि युथ कांग्रेस नामक संस्थाले जोर विजोर सम्बन्धी निर्णयको विरोध गर्दै अबज्ञा गर्न आग्रह गरेको थियो ।
सम्मेलनमा सहभागी हुन अनौपचारिक भ्रमणका क्रममा विभिन्न ६ मुलुकका राष्ट्र प्रमुख तथा उच्च पदाधिकारी नेपाल आउँदै छन् । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडो हिजै काठमाडौं आइसकेका छन् ।
पोलीनेसिया मुलुक सामोआका राष्ट्रप्रमुख, दक्षिण प्रशान्त सागरमा रहेको टापु मुलुक टुभालुका सरकार प्रमुख र माईक्रोनेसिया मुलुक नाउरुका राष्ट्रपति बरोन वका पनि काठमाडौं आउने कार्यक्रम रहेको छ ।
विभिन्न ४५ देशका १ हजार ५ सयको विदेशी पाहुना काठमाडौंमा भेला हुने सम्मेलनमा सहभागी हुन पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी पनि काठमाडौं आउने कार्यक्रम छ ।
कोलम्बियाका पूर्व राष्ट्रपति, अफगानिस्तानका पूर्व उपराष्ट्रपतिलगाय सम्मेलनमा सहभागी हुन आउँने कार्यक्रम रहेको छ ।