
बुटवल – लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो १४ औं वार्षिकोत्सव साताव्यापी रुपमा मनाउन थालेको छ ।
वार्षिकोत्सवलाई कार्यक्रमबीच पूर्वअर्थमन्त्री तथा सांसद विष्णु पौडेलले उद्घाटन गरे ।
लुम्बिनीमा शुक्रवार भएको कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सांसद विष्णु पौडेलले कानून संशोधन गरेरै बहुविषय अध्ययनमा विश्वविद्यालयलाई जानुपर्ने बताए । लुम्बिनी, बौद्ध दर्शन र विश्वविद्यालय एकअर्काका परिपुरक भएर अघि बढ्दा समग्र क्षेत्रको विकास हुने उनले बताए ।
विश्वविद्यालयका लागि पूर्वाधार निर्माण गर्न १ सय विगाहा जमिन आवश्यक रहने र त्यसको प्रक्रिया छिट्टै टुंगिने विश्वास समेत दिलाए । जनस्तरबाट सञ्चालन हुने ऐन भएपनि सरकारले बजेट विनियोजन गर्दै बौद्ध शिक्षाको विकासमा योगदान पुर्याउने उनले बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले बौद्ध दर्शन शिक्षा र लुम्बिनीको माध्यमबाट पर्यटन विकास गर्न सकिने भन्दै अबको योजना त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए ।
३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बौद्ध दर्शन अध्ययन गर्ने मात्रै नभई व्यवहारिक रुपमा प्रयोग गर्नुपर्ने बताए । उनले विश्वविद्यालयबाट बौद्ध दर्शनसँगै अन्य विषय अध्ययनलाई पनि जोड दिनुपर्ने बताए ।
प्रदेश सांसद फकुरुद्धिन खानले लुम्बिनीमा बहुविषययुक्त क्याम्पसको आवश्यक भएको भन्दै लुम्बिनीलाई बौद्ध दर्शनमा मात्रै सीमित गर्न नहुने बताए । बहुभाषिक र टुरिज्मसम्बन्धी विषय लुम्बिनीमा आवश्यक रहेको उनले बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीमा विश्वभरबाट बौद्ध दर्शन खोज्दै आउने वातावरण बनाउनका लागि विश्वविद्यालय र कोष एक भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिस्ट्रार तिलक आचार्यले बजेट अभावमा विश्विद्यालयले लक्ष्य अनुरुप शैक्षिक गतिविधि अघि बढाउन नसकेको बताए । २ विगाहा क्षेत्रफलमा विश्वविद्यालयका संरचना रहेकाले पूर्वाधार विकाससँगै शैक्षिक क्रियाकलाप अघि बढाउन सरकारको सहयोग आवश्यक रहने उनले बताए । उनले कानूनबाट नै विश्वविद्यालयको प्रगतिमा ‘घाटी अठ्याउने’ काम गरेको आरोप समेत लगाए ।
सोही अवसरमा विश्वविद्यालयको पुस्तकालय भवनको शिलान्यास समेत भएको छ । १२ करोड ६८ लाख रुपैयाँमा पुस्तकालय भवन बन्न लागेको हो । विश्वविद्यालयले १४ औं वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरी मनाउँदैछ । मंसिर २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यतामा समापन कार्यक्रम हुनेछ । सो अवसरमा विश्वविद्यालयका नवनिर्मित छात्रावास, अनुसन्धान केन्द्र लगायतका भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख फणिन्द्र न्यौपाने, पूर्वक्याम्पस प्रमुख इन्द्र काफ्ले लगायतले बोल्दै शैक्षिक गतिविधिबारे जानकारी गराएका थिए । सो अवसरमा विश्वविद्यालयका विभिन्न तहमा अध्ययनरत ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो ।