
काठमाडौं– बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरोकारवालहरुको राय माग गरेका छन् । उनले बुढिगण्डकी जलविद्युत आयोजनाले पार्ने प्रभावका बारेमा सम्बन्धित अधिकारीहरुसँग राय माग गरेका हुन् ।
बुढिगण्डकी जलविद्युत आयोजनाका सम्बन्धमा देखिएका समस्या सम्बन्धी मन्त्री पुनले गोरखा तथा धादिङका प्रतिनिधिहरुको राय माग गरेका हुन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री राजेन्द्र पाण्डे, कमला पन्त, रामनाथ अधिकारी, भूमि त्रिपाठी, दिलनाथ पाख्रिन, चीन्काजी श्रेष्ठ लगायतसँग छलफल गर्दै मन्त्री पुनले त्यहाँका स्थानीयको रायका सम्बन्धमा जानकारी लिएका थिए ।
सो क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढिगण्डकी जलविद्युत आयोजनाको काम ढिला भएकाले समस्याहरु थपिँदै गएको बताए । छलफलको क्रममा प्रतिनिधिहरुले बुढगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणमा सरकारले आयकर लगाएकाले उक्त आयकर छुट हुनु पर्ने माग राखेका थिए ।
मन्त्री पुनले आयकर छुट दिने र समस्याहरुलाई उचित व्यवस्थापन गरेर बुढिगण्डकीको निर्माण कार्य चाँडै अघि बढाउने बताएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले लोकान्तरलाई जानकारी दिए ।