
सल्यान– वनगाड कुपिण्डे नगरपालिकाका शिक्षकले गर्दै आएको आन्दोलन २० दिन पछि फिर्ता भएको छ । नगरपालिकाले शिक्षक तथा कर्मचारीलाई तलव भत्ता उपलव्ध गराउने सहमति गरेसँगै शनिबार आन्दोलन फिर्ता भएको हो ।
नगरपालिकाभित्रको विवाद साम्य भई यही मङ्सिर १८ गते नगरसभा हुने र तलब भत्ता उपलव्ध गराउने प्रतिबद्धता नगरप्रमुखले गरेपछि आन्दोलन फिर्ता लिइएको नेपाल शिक्षक महासङ्घ कुपिण्डेले जनाएको छ । नगर प्रमुख गोविन्द पुनले नगरसभापछि तलब उपलव्ध गराइने आश्वासन दिएका हुन् ।
गत साउनदेखि तलव भत्ता नपाएको भन्दै नगरपालिकाभित्रका शिक्षकले गत कात्तिक २० गतेदेखि आन्दोलन गरेका थिए । सहमति भएपछि आइतबारबाट पठन पाठन शुरु गर्न अनुरोध गरिएको महासङ्घका अध्यक्ष अकवर पुनले जानकारी दिए ।