काठमाडौं २० फागुन –सामाजिक सद्भाव कायम गर्न तथा संविधानप्रति रहेका भ्रमको अन्त्यका लागि भन्दै नेकपा एमालेले शनिवारदेखि शुरु गर्न लागेको ‘मेची–महाकाली’ अभियानको पूर्वसन्ध्यामा तराईका जिल्लामा एमालेका कार्यकर्तामाथि आक्रमणका घटना भएका छन् ।

मध्यतराईको सप्तरीमा एमाले नेता कार्यकर्ता मधेशी मोर्चाको निशानामा परेका छन् । नेकपा एमालेका स्थायी समिति सदस्य एवं सप्तरीका सांसद सत्यनारायण मण्डलका अनुसार एमालेको अभियान बिथोल्ने कार्यक्रममा मधेशी मोर्चा लगायत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्तासमेत सहभागी छन् ।
‘मोर्चाका कार्यकर्ता अलोकतान्त्रिक किसिमले आइरहेका छन् । हाम्रो संयमतामाथि धावा बोलिरहेका छन्,’ मण्डलले लोकान्तरसँग भने, ‘मोर्चाका कार्यकर्ताले अधिनायकवादी चरित्र देखाए ।’ मेची–महाकाली अभियान अन्तर्गत सोमवार सप्तरीको राजविराजमा नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । त्यही सोमवारको कार्यक्रम बिथोल्न मोर्चाले आइतवार नै लाठी जुलुस प्रदर्शनको कार्यक्रम राखेको छ ।
‘यातायात व्यबसायीलाई धम्की दिइएको छ, एमालेलाई गाडी दियौ भने गाडी जलाइदिन्छांै भनेर चिठी नै पठाइएको छ’ मण्डलले थपे । मोर्चाका कार्यकर्ताले शुक्रवार राजविराजमा नेकपा एमालेका सचिव शम्भु यादवलाई कुटपिट गरेर उनीसँग भएको नगद र झोलासमेत लुटेर लगेको मण्डलले बताए ।
शुक्रवार नै एमाले जिल्ला कमिटी सदस्य प्रतापनारायण चौधरीमाथि मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका थिए । ‘घरबाट पार्टी कार्यालय जादैंगर्दा बालबालिकालाई प्रयोग गरेर कालोमोसो दलिएको छ’ मण्डलले भने, ‘हाम्रा कार्यकर्तालाई धम्की दिइएको छ भने एमालेको कार्यक्रममा नजान सर्वसाधारणलाई समेत डर देखाइएको छ ।’
जिल्ला प्रशासन कार्यालय सप्तरीले भने एमाले कार्यक्रममा पर्याप्त सुरक्षा व्यबस्था गरिने जनाएको छ । ‘शान्ति सुरक्षामा कुनै कमी आउन दिन्नौ’ सप्तरीका प्रमुख जिल्ला अधिकारी उदय प्रसाद तिमिल्सिनाले लोकान्तरसँग भने ।
मधेशी मोर्चाका कार्यकर्ताले एमालेको कार्यक्रम असफल बनाउन माइकिङ गरिरहेका छन् । सप्तरीमा एमाले जिल्ला सदस्य प्रतापनारायण चौधरीमाथि मधेशी मोर्चाका कार्यकर्ताले कालोमोसो दलेको केही बेरमै एमाले सांसद रञ्जु कुमारी झा चढेको गाडिमाथि आक्रमण गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग विहीवार भएको भेटमा गृहमन्त्री बिमलेन्द्र निधीले एमालेको मेची–महाकाली अभियानका क्रममा सुरक्षाको व्यवस्था गर्न आफूले सुरक्षा निकायलाई निर्देशन दिएको बताएका उनका प्रेस सल्लाहकार रामजी दाहालले शुक्रवार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मधेशी मोर्चाका नेता सद्भावना सहध्यक्ष लक्ष्मणलाल कर्णले एमालेको कार्यक्रम बिथोल्ने योजना नभएको बताए । ‘जनता नै विरोधमा उत्रिए भने हाम्रो के लाग्छ ?’ उनले भने, ‘मोर्चाले विथोल्ने भनेको छैन ।’