
जनकपुरधाम–जनकपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुखसहित तीनजनालाई विद्यार्थीले थुनेका छन् ।
क्याम्पस प्रमुख विजयलाल दासको कार्यकक्षमा उनीसहित सहायक क्याम्पस प्रमुख विरेन्द्र यादव, विज्ञान विभाग प्रमुख राकेशरञ्जन सिंहलाई दिउँसो १ बजेदेखि विद्यार्थीले थुनेका हुन् ।
राष्ट्रिय जनता पार्टी निकटको विद्यार्थी संगठन र नेपाली कांग्रेस निकटको विद्यार्थी संघ नेविसंघले क्याम्पस प्रमुखसहित तीन जनालाई दासको कार्यकक्षमा थुनेका हुन् ।
पठनपाठन नभएको क्याम्पसमा शौचालयको उचित व्यवस्था नभएको खानेपानी, कक्षाकोठा व्यवस्थित नभएको, कक्षाकोठामा ह्वाइट बोर्ड, मार्करहरुको व्यवस्था नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् ।
आफ्ना मागहरु पटपटक क्याम्पस प्रशासनसमक्ष राख्दा पनि सुनुवाई नभएपछि क्याम्पसप्रमुखलाई थुन्नुपरेको आन्दोलनरत विद्यार्थीहरुको भनाइ छ ।
विद्यार्थीबाट थुनिएका क्याम्पस प्रमुख दासले भने समस्या समाधानको पहल भइरहेको लोकान्तरसँग बताए । उनले विद्यार्थीका मागहरुका बारेमा छलफल भइरहेको र समस्या समाधान हुने विश्वास व्यक्त गरे ।