
काठमाडौं–चलचित्र ‘रणवीर’को एक गीतको छायाँकन राजधानीमा भब्य तरिकाले गरिएको छ ।
नक्सालस्थित बालमन्दिरमा भब्य सेट तयार गरेर ४ दिन लगाएर गीतको छायाँकन गरिएको हो ।
‘तिरिमिरी तिरिमिरी तिनतारा’बोलको गीतमा चलचित्रका मुख्य कालकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुस्पा भट्ट फिचर्ड छन् । यस गीतमा पछिल्लो समय चर्चामा रहेका संगीतकार राजनराज शिवाकोटीको शब्द, संगीत र स्वर छ । राजनराजलाई अन्जु पन्तले स्वरमा साथ दिएकी छिन् । यसै चलचित्रमार्फत अभिनयमा डेब्यू गरेका शुभेच्छा र सुपुस्पाले नेपाली टिपिकल ड्रेसमा आफुलाई प्रस्तुत गरेका छन् ।
गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन । ‘गीतलाई भब्य बनाउन कुनै कसर बाँकी राखिएको छैन’– कोरियोग्राफर रामजी भन्छन ‘मैले गरेको काममा यसलाई उत्कृष्ट भन्न सक्छु ।’
यसैगरी निर्मात्री गोमा बिस्टले गीतलाई पनि विना सम्झौता तयार गरिएको बताइन् । गीतमा झण्डै २५ लाख रुपैयाँ खर्च भएको निर्माता दिपेन्द्र रेग्मीले बताए । ‘गीत राम्रो बनेकोले चाहिएको प्रोपर्टी त्यहि अनुरुप हामीले तयार गरेका हौ’ उनि भन्छन् –‘गीत हेर्दा दर्शकलाई अडियो भन्दा भिडियो कमजोर नलाग्ने किसिमले तयार गरेका छौ ।’
माघ १८ मा रिलिज हुने चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ ।