०३ असार २०८३, बुधबार

यस्तो उत्तर दिएर मिस वर्ल्ड २०१८ बनिन् भनेसा

मंसिर २३, २०७५
यस्तो उत्तर दिएर मिस वर्ल्ड २०१८ बनिन् भनेसा

काठमाडौं — चीनमा शनिवार सम्पन्न मिस वर्ल्ड प्रतियोगिता मेक्सिकोकी भनेसा पोन्से दे लीयोनले जितेकी छन् । 

भनेसा सन् १९९२ को मार्च ७ मा गुआनाहुआतो शहरमा जन्मेकी हुन् । 

उनले गुआनाहुआतो विश्वविद्यालयबाट इन्टरनेसनल बिजनेसमा डिग्री लिएकी छन् । उनले मानवअधिकारमा डिप्लोमा समेत हासिल गरेकी छन् । 

उनी बालिकाहरूको पुनःस्थापना केन्द्रको निर्देशक बोर्डमा समेत रहेकी छन् । 

मानव कल्याणको काममा संलग्न भनेसा संसार परिवर्तन गर्ने लक्ष्य लिएको बताउँछिन् । उनी आदिवासी कबिलाका बालबालिकालाई अन्तःसांस्कृतिक शिक्षा दिने विद्यालय नेनेमीमा काम गर्छिन् । 

‘म जहिले पनि उद्देश्यको खोजी गरिरहेकी हुन्छु,’ भनेसाले भनिन् । ‘म प्रेम, कला र अरूको हेरचाह गर्ने कुरामा विश्वास गर्छु । म कठोर मेहनत गर्छु, कल्पनामा डुब्छु र आफूले भेटेका सबै मानिसको अनुहारमा मुस्कान ल्याउन चाहन्छु ।’

‘म दुई वषअघि मोडल थिएँ तर अहिले मैले त्यो पेशा त्यागेकी छु,’ भनेसाले भनिन् । 

‘म अहिले बिल्कुलै फरक पेशामा छु । म अपांगता भएका व्यक्तिहरूसँग अनि पुनःस्थापनामा रहेका बालिकाहरूसँग काम गर्छु र मलाई यो काम असाध्यै मन पर्छ । प्रत्येक मानिसले जीवनमा एकपटक स्वयंसेवा गर्नुपर्छ ।
उनीहरूलाई सेवाले निकै छक्क पार्नेछ ।’

भनेसा स्पेनी र अंग्रेजी दुवै भाषा खरर बोल्छिन् । फुर्सदको समयमा उनी भलीबल खेल्न र फ्रिस्बी खेल्न मन पराउँछिन् । कलाप्रतिको आफ्नो मोह उनी चित्रकलामा व्यक्त गर्छिन् । 

यी मिस वर्ल्ड तालिमप्राप्त स्कुभा ड्राइभर हुन् । सन् २०१४ मा उनले मेक्सिकोज नेक्स्ट मोडल सीजन ५ जितेकी थिइन् । 

मिस वर्ल्डको फाइनलमा उनले दिएको यो उत्तरले नै उनलाई विजयी बनायो :

प्रश्न : म मिस वर्ल्ड भएपछि मैले आफ्नो पोजिसनको प्रयोग गरेर मानिसको सहायता गरें । तपाईं मिस वर्ल्ड हुनुभयो भने अरूलाई सहायता गर्न आफ्नो प्रभावलाई कसरी प्रयोग गर्नुहुन्छ ?

उत्तर : सबैलाई शुभरात्रि । म विगत तीन वर्षदेखि जे गरिरहेकी छु त्यसैगरी आफ्नो पोजिसनको प्रयोग गर्छु । म एक उदाहरणका रूपमा प्रस्तुत हुन्छु । हामी सबैजना संसारमा असलको उदाहरण बन्न सक्छौं । हामी सबैले अर्काको
हेरचाह गर्ने, प्रेम गर्ने र दयालु हुने हो । यसो गरेको एक पैसा पनि पर्दैन । सहायता गर्नु त्यति गाह्रो कुरा पनि हैन । हामीले संसार परिवर्तन गर्न पर्छ । हामी जहिले पनि सहायताका लागि तयार हुनुपर्छ । तपाईंले दिएको कुरा लिनका
लागि कोही न कोही अवश्य हुन्छ । 

भनेसाको व्यक्तिगत महावाणी हो – ‘हामी सबैलाई एकअर्काको आवश्यकता छ’ । अनि मानवताका लागि योगदान गर्ने मिस वर्ल्ड २०१८ विजेताको हकमा त्यो मन्त्र वास्तवमै लागू हुन्छ ।

र्‍याप्लर डट्कमबाट

salt training

कमेन्ट गर्नुहोस्