
बुटवल– प्रदेश नम्बर ५ को राजधानी रहेको बुटवलमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालय मातहत ७८० उजुरी मध्ये २७६ उजुरी फस्र्योट भएको छ । कार्यालयले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म दर्ता भएका उजुरी मध्ये ५०४ वटा अनुसन्धानमा रहेको कार्यालय प्रमुख सहसचिव रविलाल पन्थले जानकारी दिए ।
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा आईतबार कार्यालयले बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख पन्थले ६० प्रतिशत उजुरी बेनामे आउने गरेको बताए । कार्यालयमा दर्ता भएका उजुरी मध्ये सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम पूर्वी रुकुमका भएको उनले जानकारी गराए ।
कार्यालयमा दर्ता भएको उजुरीको तथ्यांक अनुसार सबैभन्दा बढी रुपन्देही जिल्लाका २५७ वटा रहेका छन् भने सबैभन्दा कम पूर्वी रुकुमका जम्मा ५ वटा रहेका छन् । प्रदेश पाँचका ९ जिल्ला र प्रदेश ४ को नवलपरासी पूर्व गरी १० जिल्ला कार्यक्षेत्र रहेको आयोगको बुटवल कार्यालयमा कपिलबस्तुका १५८, नवलपरासी पश्चिमका ११३, अर्घाखाँचीका ७१, गुल्मीका ५०, पाल्पाका ४८, नवलपरासी पूर्वका ४१, रोल्पाका २६ र प्युठानका ११ वटा उजुरी दर्ता छन् ।
भ्रष्टाचार नियन्त्रणकालागि काम गर्ने अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय प्रधानमन्त्री कार्यालय मातहत हुँदा नेपाली सेना, अदालत, मन्त्रीपरिषदका निर्णय र संसदीय समितिका निर्णय हेर्न नपाउँदा काममा समस्या भएकाले स्वायत्तता प्रदान गर्नुपर्ने, भौतिक पूर्वाधार तथा स्रोत साधनको अप्रयाप्ता, बिशिष्टिकृत कर्मचारीको अभाव हुँदा काम गर्न समस्या भएको उनले बताए ।
त्यस्ता भ्रष्टाचार नियन्त्रणकालागि स्थानीय तहले सदाचार र निष्ठामा रहि काम गर्नुपर्ने, भ्रष्टाचार बिरुद्धको शुन्य सहनशिलता कायम गर्नुपर्ने, स्थानीय तहले गर्ने काम, प्रदान गरिने सेवा र बिकास कार्यहरुमा पारदर्शिता अभिबृद्धि गर्न सामाजिक परिक्षण, सार्वजनिक लेखा परिक्षण, गुणस्तर परिक्षण, व्यबस्थापन परिक्षण र सार्वजनिक सुनुवाई लगायतका काम हुनु पर्ने उनले औंल्याए ।
कार्यालयका उपसचिव नारायण पाण्डेले नेपालमा आर्थिक वर्ष २०७३÷०७४ मा ५ खर्व वेरुजु रहेको बताउँदै सरकारको बजेटको ५० प्रतिशत वेरुजु हुनुले सुशासनको अवस्था प्रष्ट पारेको बताए । उनले विश्वमा वार्षिक १० खर्व घुस र २५ खर्व भ्रष्टाचार हुने गरेको बताउँदै भ्रष्टाचार र घुसखोरी संस्थागत हुँदै गएको र यसलाई समाजबाट वहिस्कारको रणनीति अवलम्बन नगर्ने हो भने स्थिती अझै भयावह हुँदैजाने उल्लेख गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले भ्रष्टाचार हुन नदिने वातावरण सिर्जना गर्नकालागि कार्यालय प्रमुखहरुले सदाचार प्रणाली अवलम्बन गर्न आग्रह गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, वास रुपन्देहीका अध्यक्ष विजया खत्री, जनप्रतिनधिहिरु कमलप्रताप थापा, रामचन्द्र क्षेत्री, तिलोत्तमा नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, पत्रकार यमलाल भुसाल केशब भण्डारी लगायतले भनाई राखेका थिए ।