काठमाडौं – नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिदमा प्रक्रिया मिचेको खुलासा भएको छ ।
सार्वजनिक खरिद अनुमगन कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार वाइडबडी खरिदमा प्रक्रिया मिचिएको पाइएको हो ।
सार्वजनिक खरिद अनुमगन कार्यालयले शुक्रबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बुझाएको प्रतिवेदनमा प्रक्रिया मिचेर विमान खरिद गरिएको उल्लेख गरिएको स्रोतको दावी छ ।
‘विमान खरिदका क्रममा ए ३३०–२०० भनेर किटान गरिएको छ’ स्रोतले भन्यो, ‘सार्वजनिक खरिद ऐन अनुसार यस्तो गर्नु पाइँदैन ।’
यसबाहेक अन्य प्रक्रिया समेत मिचेर विमान खरिद गरिएको स्रोतले बताएको छ । यद्यपि अहिलेसम्म समितिले प्रतिवेदन सार्वजनिक गरेको छैन । अब समितिले बैठक बोलाएर प्रतिवेदन सार्वजनिक गरिने समितका एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।
सार्वजनिक खरिद अनुमगन कार्यालयका निर्देशक रामचन्द्र शर्माले सार्वजनिक खरिद अनुमगन कार्यालयले तयार पारेको प्रतिवेदन लेखा समितिमा बुझाइएको पुष्टि गरे । उनले समितिले दिएको समयसीमा अनुसार गत शुक्रबार प्रतिवेदन समितिमा बुझाइएको बताए ।
‘समितिमा प्रतिवेदन पेश गरिएको छ’ उनले भने,‘समितिले बैठक बेलाएर प्रतिवेदनमाथि छलफल गर्ला । त्रुटि भएको भएपनि समितिले नै सार्वजनिक गर्ने छ ।’
साताअघि समितिले अनुमगन कार्यालयका निर्देशक शर्मा र सचिवलाई बोलाएर खरिद अनुगमन प्रक्रियाका विषयमा छलफल गरेको थियो । तर, सो बैठकका क्रममा कार्यालयका पदाधिकारीले यसबारे विस्तृतमा अध्ययन गरेर प्रतिवेदन बुझाउने गरी एक साताको समय माग गरेका थिए ।
महालेखा परीक्षकको २०७४/०७५ को ५ औं वार्षिक प्रतिवेदनले एयसबस निर्माता कम्पनीलाई छली बीचमा दलाल राख्ने उद्देश्यले एक हजार घण्टा उडेको जहाजका लागि आरएफपी जारी गर्नु र त्यसपछि तीन चार वटा दलाल खडा गरी खरिद गर्नु कानुन विपरीत भएको उल्लेख गरेपछि लेखा समितिले यसलाई महत्वका साथ छलफलमा उठाउँदै आएको छ ।
तर विमान खरिद प्रकरणमा मुछिएका निकायका जिम्मेवार अधिकारीले एकअर्कालाई देखाएर उम्किने प्रयास गर्दै आएका छन् ।