काठमाडौं, २१ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपा अध्यक्ष कमल थापाले संशोधन प्रस्तावको पक्षमा भोट हाल्न नसक्ने स्पष्ट जवाफ दिएपछि समस्या भएको अभिव्यक्ति दिएका छन् ।

केहि दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ दलको बैठकमा राप्रपा अध्यक्ष थापाले संशोधनका केहि बुँदामा आफ्नो पार्टीको असहमति रहेको भन्दै समर्थन गर्न नसकिने जवाफ दिएका थिए । नागरिकता, भाषा, सीमांकन जस्ता विषयमा राप्रपाले असहमति राख्दै आएको छ ।
शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा प्रश्न प्रधानमन्त्रीसँग’ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले राप्रपाको जवाफपछि संशोधन प्रस्तावलाई सरकारले मतदानमा लैजान नचाहेको बताए । उनले भने, ‘ राप्रपाका नेताहरुले औपचारिक रुपमै संशोधन प्रस्तावको पक्षमा भोट हाल्न सक्दैनौं भनेपछि हामीले संशोधन विद्येयक मतदानमा लान नचाहेको हो । किनकि, त्यसरी जाँदा संशोधन फेल हुन्छ । हामी त्यो चाहँदैनौं ।’
यद्यपी संशोधन प्रस्तावमा सहमतिको प्रयास जारी रहेको भन्दै प्रमले सरकार अहिले पर्ख र हेरको अवस्थामा रहेको संकेत गरे ।
सरकार आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याएर स्थानीय तहको निर्वाचन गराउने प्रयासमा रहेको भन्दै मधेशी मोर्चाको चासोलाई सम्बोधन गर्ने कोशिस पनि भएको बताए ।
‘स्थानीय निर्वाचनसँग सम्बन्धित कुरा टुङ्गाएर बाँकी कुरामा सहमति खोज्दै जान सकिन्छ । यो बिकल्प पनि हामीसँग छ’, प्रमले भने, ‘ संशोधन विद्येयक थाती राखेर निर्वाचन गर्ने भनेको होइन । तर, संशोधन प्रस्ताव मतदानमा गएपछि जसरी पनि पारित हुनुपर्छ, केही समय लिएर भएपनि संशोधन प्रस्ताव पारित गरौं भन्ने मेरो प्रष्ट मत हो ।’
प्रमले बर्तमान सत्ता गठबन्धन फेरिने हल्ला निराधार भएको समेत बताए । ‘स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुअघि अर्को कुनै सरकारको कल्पना गर्न सकिँदैन । गठबन्धन फेरिने बजार हल्ला पनि आएका छन् । तर, ती सत्य होइनन् । स्थानीय निर्वाचनका लागि सरकार सबै लचकता अपनाउन तयार छ । तर, निर्वाचन प्रभावित हुने कुरामा सहमति र लचकता हुँदैन’, प्रमले भने ।
उनले न्यूनतम् आवश्यक तयारी गरेर नै निर्वाचनको मिति घोषणा गरिएको बताउँदै प्रमले भने, ‘ ऐनहरु बनेका छन्, अरु केही ऐन पनि पारित गर्नुछ । तर, त्यसले स्थानीय निर्वाचनलाई असर गर्दैन । संसद खुल्ने बित्तिकै बाँकी ऐन पनि पारित हुन्छन् । स्थानीय तहको प्रतिवेदनका सन्दर्भमा पनि पर्याप्त आधार दिएका छौं । कार्यदलको प्रतिवेदन पनि आएको छ ।’
उनले आइतबार बस्ने मन्त्रीपरिषदबाट प्रतिवेदन पनि पास गरेर कार्यान्वयनमा गइने समेत जानकारी दिए ।
उनले प्रदेश र केन्द्रको निर्वाचन एकै दिन गर्न बताउँदै आगामी कार्तिक वा मंसीरभित्र सो निर्वाचन गरिने बताए ।
यस्तै प्रमले काभ्रेमा हेलिकप्टर चढेर जाँदा आफूले निर्वाचन आचारसंहिता उलंघन नगरेको समेत दाबी गरे । ‘शहिद सप्ताह अन्तर्गतको एउटा कार्यक्रममा म गएको हो । त्यो शहिदलाई सम्मान गर्ने कार्यक्रम हो । त्यो निर्वाचन प्रयोजनका निम्ति गरिएको कार्यक्रम होइन । त्यहाँ कुनै कार्यक्रम घोषणा गरिएको पनि छैन । मैले निर्वाचन आयोगको पूर्व स्वीकृति पनि लिएको छु । त्यसैले प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता तोड्नु भन्नु भ्रामक छ’, उनको दाबी थियो ।
प्रमले काठमाडौंमा मेलम्चीको पानी ल्याउने सन्दर्भमा धुँवा, धुलो बढेको प्रति चिन्ता व्यक्त गर्दै सो समस्या समाधानमा सरकार गम्भीर रहेको बताए ।
उनले भने, ‘ म क्याविनेटमा यस विषयमा कुरा गर्छु । अस्थायी रुपमा कालोपत्रे गर्ने वा अरु केही गर्ने निर्णय गछौं । हाम्रो कर्मचारीतन्त्र, नियम, कानून र संस्कारमा पनि समस्या छ । अहिले काठमाडौंमा आएको धुँवा, धुलो हटाउन भोलि नै ठोस निर्णय हुन्छ ।’