
काठमाडौँ– विभिन्न समुदायले आफ्नो पर्वमा बिदा दिन माग गरेका छन् । राष्ट्रिय ख्रीष्टियन महासङ्घले ख्रीष्टमस (क्रिसमस) मा सार्वजनिक बिदा कायम गर्न सरकारसँग पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको ध्यानाकर्षण गराएको छ ।
महासङ्घका अध्यक्ष सि.बि.गहतराजको नेतृत्वको प्रतिनिधिमण्डलले अध्यक्ष शर्माको ध्यानाकर्षण गराएको हो । विसं २०६४ देखि निरन्तर रूपमा दिइदै आएको सार्वजानिक बिदा यस वर्ष सरकारले ख्रीष्टियनका लागि मात्र कायम गरिएको हुँदा महासङ्घको गम्भीर ध्यानकर्षण भएको र यसले ख्रीष्टियन समुदायको भावनामा गहिरो चोट पुगेको पत्रमा उल्लेख गरिएको छ ।
यस्तै नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा रहेको ६७ सङ्घसंस्थाले विगतमा दिइँदै आएको बिदा खारेज गरिएकामा विरोध गर्दै पुनः बिदा दिन सरकारसँग माग गरेको छ । रिपोर्टस क्लबमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनजाति महासङ्घका पदाधिकारीले बिदा खारेजी पुनःस्थापना गर्र्नुपर्नेमा जोड दिएका छन् ।
महासङ्घका अध्यक्ष जगतबहादुर बरामले पुस ४ गतेसम्म विभिन्न चरणको आन्दोलनको घोषणा गर्दै आदिवासी जनजातिले मनाउँदै आएका ल्होसार, ल्होछार, माघी, माघे सङ्क्रान्ति, उधौली, उभौलीजस्ता पर्वमा सार्वजनिक बिदा दिन माग गरे ।