
काठमाडौं–संवैधानिक परिषद्को बैठक बुधबार बिहान बस्दै छ । मंगलबार स्थगित भएर पुस ५ गतेलाई तोकिएको बैठक फेरि बुधबारका लागि सरेको हो ।
बैठकको मिति एकाएक परिवर्तन गरी बुधबार बिहान ९ बजेको लागि बोलाइएको हो । संघीय संसदको प्रतिनिधिसभाकी उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले बुधबार बिहान ९ बजेका लागि बैठक बोलाइएको लोकान्तरलाई जानकारी दिइन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबार बस्ने भएको छ ।
परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिसको निर्णय गर्नेछ । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाएको छ । यसअघि पनि सिफारिस भएका जोशीलाई संसदीय सुनुवाई समितिले अनुमोदन नगरेको र राणा पनि विवादित पृष्ठभूमिका भनिएकाले परिषद्बाट नाम सिफारिस हुन सकस परेको बताइन्छ ।
संवैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश सिफारिस हुन नसक्दा संविधानकै उल्लंघन भएको छ ।
संविधानको धारा २८४ को उपधारा ३ ले ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने’ स्पष्ट किटान गरेको छ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने बाध्यता छ ।