
विराटनगर – सुनसरीको दुहवी नगरपालिका–२ का अजिव हुसेन आफ्नो घर नजिकै काम गर्दै थिए ।
नजिकै रहेको उद्योगका कारण घरमा काम गर्न असहज भएको महसुस गरेका उनले हरेक दिन उद्योगबाट आउने आवाजका कारण समस्या भएको बताए ।
सडकबाट करीब २ सय मिटरको दूरीमा स्थापना भएको उद्योगका कारण अहिले बस्तीका स्थानीयलाई समस्या परेको छ । दुहवी नगरपालिकाको तुताहामा बस्तीबीच निजी स्टिल कम्पनी उद्योग खोलिएपछि समस्या भएको हो ।
यसरी सञ्चालनमा आएको स्टिल्स कम्पनी न नगरपालिकामा दर्ता छ, न नक्सा पास नै । उद्योगबाट निस्कने चर्को आवाजले स्थानीय २ सय ५० परिवारले न निदाउन पाउँछन्, न आनन्दले काम गर्न नै । हरेक दिन हुने हल्लाले समस्या सिर्जना गरेको स्थानीय जुमन हुसेन बताउँछन् ।
स्थानीयलाई प्लटिङ गर्ने भन्दै सही छाप गर्न लगाएर झुक्याएर प्रिमियर स्टिल उद्योग खोलिएको स्थानीयको आरोप छ । ‘पहिला नै हामीले उद्योग खोल्ने भए सही गर्दैनौं भनेका थियौं,’ हुसेनले भने, ‘अहिले आएर निस्कने आवाजले हामीलाई निकै समस्या पारेको छ ।’
ध्वनी प्रदूषण त छँदैछ, उद्योगले गाडेको बोरिङले बढी पानी तान्दा भूमिगत पानीको स्रोत सुकेर बस्तीका ट्यूवबेलमा पानी आउन छाडेको स्थानीय मोहम्मद दाउदले बताए ।
२ महिनाअघि सञ्चालनमा आएको उद्योगको चर्काे आवाजले बालबालिका अत्तालिन्छन् भने विद्यालयसम्मै पुग्ने चर्को ध्वनीले पढाइ प्रभावित भएको छ । करीब सय मिटरको दूरीमा रहेको नविन शिक्षा निकेतनका बालबालिका उद्योगबाट आउने आवाजका कारण समस्यामा छन् । बस्तीबीच राखिएको उद्योगका कारण आमनागरिक कता जाउँ भन्दै छटपटिन्छन् ।
वातावरणीय प्रभाव मूल्यांकनपछि स्थानीयलाई असर नपर्ने गरी सञ्चालन गरिनुपर्ने उद्योग बस्तीबीच छ । स्थानीयको विरोध हुँदाहुँदै खुलेको निजी स्टिल कम्पनीले नगरपालिकाबाट अनुमति पनि लिएको छैन ।
जनजीवन नै प्रभावित गर्ने गरी उद्योग सञ्चालन हुँदा नगरपालिका भने चुपचाप छ । आफू निर्वाचित भएर आउनु अगावै वातावरणीय प्रभाव अध्ययन गरी ‘सर्जमिन मुचुल्का’ भएको भन्दै जनप्रतिनिधि पन्छिने गरेका छन् । २ सय ५० परिवारलाई उद्योगले प्रत्यक्ष असर पारेको भएपनि सञ्चालक भने मापदण्ड पूरा गरेको दाबी गर्छन् ।
प्रिमियर स्टिल प्रालिका सञ्चालक पवनकुमार सारडा आफूहरूले मापदण्डभित्र रहेर काम गरेको दाबी गर्छन् । तर बस्तीको बिचमा लगेर राखिएको उद्योग मापदण्डभित्र छ भनेर भन्ने स्पष्ट आधार देखिँदैन ।
नियम विपरीत स्कूलको जग्गा बाटोमा
उद्योग सञ्चालनमा आउनुभन्दा पहिला नै नविन शिक्षा निकेतनको जग्गालाई बाटोको रुपमा प्रयोग गरेको पाइएको छ । विद्यालयको पछाडिपट्टि रहेको रहेको जग्गा केही व्यक्तिलाई प्रभावमा पारेर उद्योगसँग सहमति गरेर बाटोमा दिइएको हो ।
बाटोलाई उद्योगले प्रयोग गर्ने गरी दिइएको पाइएको छ । कित्ता १२० र १२१ नम्बरका जग्गा बाटोको रुपमा प्रयोग गर्न दिने सहमति भएको पाइएको छ । ८ लाख उद्योगले विद्यालयलाई दिएपछि मिलेमतो भएको आशंका गरिएको छ ।