
काठमाडौं — ब्राजिलको दक्षिणी भागमा रहेको एक चर्चमा मंगलवार एक व्यक्तिले गोलीकाण्ड मच्चाउँदा चारजनाको मृत्यु भएको छ भने चार अन्य घाइते भएका छन् । हत्यापछि उनले आत्महत्या गरेको अधिकारीहरूले बताए ।
काम्पिन्स शहरको मेट्रोपोलिटन चर्चमा यो घटना भएको हो ।
बन्दूकधारीको नाम युलर फर्नान्डो गान्डोल्फो हो । उनी सिस्टम्स विश्लेषक थिए र उनको कुनै आपराधिक रेकर्ड थिएन ।
गान्डोल्फो चर्चमा पसे र वृद्ध भक्तहरूमाझ बसे । उनीहरू मध्याह्नको मासमा प्रार्थना गरिरहेका थिए ।
‘मैले एकजना व्यक्ति जुरुक्क उठेको, एक जोडीको अगाडि उभिएर उनीहरूलाई ताकेर गोली हानेको देखें । म तत्कालै भागें अनि उनले लगातार गोली हानिरहे,’ ६६ वर्षीय वृद्ध पेड्रो रोड्रिगेजले बताए ।
हत्याको कारणका विषयमा प्रहरीले केही बताएको छैन ।
ब्राजिलमा संसारकै सबभन्दा बढी हत्या हुने गर्छन् तर सामूहिक हत्या दुर्लभै हुन्छन् ।
एजेन्सी