काठमाडौं, २२ फागुन — अमेरिकाको वाशिङटन राज्यको केन्ट नामक स्थानमा एकजना शिखलाई ‘मेरो देशबाट निस्केर जा’ भन्दै हातमा गोली हान्ने एक व्यक्तिको प्रहरीले खोजी जारी राखेको छ ।

३९ वर्षीय शिखमाथि स्थानीय समयअनुसार शुक्रवार बेलुका ८ बजे एक अज्ञात व्यक्तिले आक्रमण गरेको थियो ।
आक्रमणकारी ६ फीट अग्लो ज्यान परेको गोरो मानिस भएको पीडितले बताए । उसले मुखको तल्लको भाग छोप्नेगरी मास्क लगाएको थियो ।
केन्ट प्रहरीले एफबीआई र अन्य कानून कार्यान्वयन एजेन्सीलाई सहयोगको अनुरोध गरेको बताएको छ ।
केन्ट प्रहरी प्रमुख केन टमसले भने, ‘हामी अनुसन्धानको पहिलो चरणमै छौं । हामी यसलाई अत्यन्त गम्भीर घटनाका रूपमा हेरिरहेका छौं ।’
रेन्टन इलाकामा शिख समुदायका नेता जस्मित सिंहले पीडित अस्पतालबाट घर गइसकेको बताए ।
‘उनी र उनको परिवार धेरै तर्सिएका छन्,’ सिंहले भने । ‘अमेरिकामा के भइरहेको छ हामीलाई थाहै भइरहेको छैन । यहाँ बनेको घृणाको वातावरणले सबैलाई सताएको छ ।’
पुगेत साउन्ड इलाकामा शिख समुदायका व्यक्तिमाथि गालीगलौजका घटना बढेको सिंह बताउँछन् । ‘यस्तो किसिमको पूर्वाग्रह र विदेशीप्रतिको घृणा विगतमा देखिँदैनथियो,’ उनले भने ।
सियाटल टाइम्सबाट