
धनगढी– कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडले चालु अर्थिक वर्ष २०७५/२०७६ को र्कािर्तक मसान्तसम्ममा मात्रै १ करोड ४३ लाख २ हजार कुल मुनाफा आर्जन गर्न सफल भएको छ ।
नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न अनुमति पाएको सहकारीले आर्थिक वर्ष २०७४/२०७५ मा १२ करोड ४ लाख ७५ हजार मुनाफा आर्जन गरेको थियो ।
मुलुकमै उच्च दरमा आर्थिक फड्को मारेको सहकारीले १६ महिनाको अवधीमा करिब साढे १३ करोड मुनाफा आर्जन गरेको सहकारीका उपाध्यक्ष डा. गोविन्दराज जोशीले जानकारी दिए ।
अत्याधुनिक बैंकिङ प्रणाली अपनाएको नवजीवन प्रदेशमै उच्च दरको मुनाफा आर्जन गर्ने, निक्षेप संकलन गर्ने पहिलो सहकारी हो भने मुलुककै अग्रणी सहकारीको रुपमा गनिने उपाध्यक्ष जोशीको दावी छ ।
सहकारीले मंसिर २८ गते आफ्नो २५ औं रजत जयन्ती मनाउन गइरहेको छ । यसैबीच सहकारीले आफ्ना शेयरधनीहरुलाई १८ प्रतिशतको दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । २०७४ असारमसान्तसम्ममा शेयर सदस्यता लिएका शेयर धनीहरुलाई १८ प्रतिशतका दरले लाभांश वितरण गर्ने सहकारीका अध्यक्ष चक्रबहादुर सिंहले बताए । सहकारीले केहि समयमै आफ्नै एटिएम सेवा पनि शुरु गर्ने तयारी गरेकाे छ ।
अध्यक्ष सिंहका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा आर्जन गरेको मुनाफाबाट २ करोड ६७ लाख २९ हजार रुपैयाँ लाभांशको रुपमा भुक्तानी गरिरहेको छ । सहकारीका १७ हजार ९९५ जना शेयर सदस्य रहेका छन् ।
सहकारीको अधिकृत शेयर पूँजी ५० करोड रहेको छ । २०७४ असारमसान्तको १३ करोड ९४ लाख ५६ हजार ५ सय चुक्ता पूँजीमा १४.९२ प्रतिशतले बृद्धि भई २०७५ मसान्तसम्म १६ करोड २ लाख ५७ हजार ५ सय पुगेको छ । चालु अार्थिक वर्षको ४ महिनासम्म १६ करोड ४१ लाख ६० हजार पुगेको जनाइएको छ ।
त्यस्तै, सहकारीले निक्षेप संकलनमा पनि उल्लेख प्रगति हासिल गरेको छ । २०७४ मा २ अर्ब ४२ करोड ३६ लाख ५२ हजार निंक्षेप रहेको सहकारीको १०.२६ प्रतिशतले बृद्धि भई २०७५ असारसम्ममा २ अर्ब ६७ करोड २२ लाख ८४ हजार निक्षेप संकलन गरेको छ ।
कार्तिक मसान्तसम्ममा २ अर्ब ६८ करोड ७९ लाख २९ हजार निक्षेप संलकन भइसकेकाे सहकारीका निमिक्त प्रबन्धक महेशदत्त पन्तले बताए । २०५० साल मंसिर ३० गते स्थापना भएको सहकारीले ५ स्थानमा शाखा कार्यालय स्थापना गरेकेा छ भने ८२ जनालाई रोजगारी दिन सफल भएको छ ।