
विराटनगर– साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्य हत्या प्रकरणका प्रतिवादी बिमल पोद्दार र राजेन्द्रकुमार शाक्य धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत मोरङको आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका पोद्दार र शाक्यलाई उच्च अदालत विराटनगरले धरौटीमा रिहा गरेको हो । उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलाशले दुवैजनालाई १०–१० लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।
नेपालमा घरजग्गासम्बन्धी व्यवसाय गर्दै आएका भारतीय नागरिक पोद्दारले हुन्डीमार्फत सुन तस्करलाई सहयोग गर्दै आएको भेटिएपछि उनीविरुद्ध मुद्दा चलाइएको थियो ।
काठमाडौंको दरवारमार्गस्थित आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रमान शाक्यले तस्करीको सुन बिक्री गर्ने गरेको भेटिएपछि नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको थियो ।
सनम शाक्यको हत्या र साढे ३३ किलो सुन तस्करी प्रकरणको छानविनका लागि गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले आरके ज्वलर्समा छापा मारेर सुन र नगद जफत गरेको थियो ।