
काठमाडौं — विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) को असर देखिँदैछ । पृथ्वी विज्ञान सम्मेलनले हालै प्रकाशन गरेको प्रतिवेदनमा यसको विस्तृत चर्चा छ ।
प्रतिवेदनअनुसार, पूर्वी अन्टार्कटिकामा हिमनदीहरू पग्लिरहेका छन् । यस्तो जाडोको बेलामा हिमनदी पग्लिँदा वैज्ञानिकहरू नै छक्क परेका छन् ।
अमेरिकी वैज्ञानिकहरूका अनुसार, आर्कटिक र अन्टार्कटिक दुवै ध्रुवको तापमान बढिरहेको छ । राष्ट्रिय समुद्री वातावरण प्रशासनले हिउँ पग्लिँदा पानीमा विषालु पदार्थ बढेको जनाएको छ ।
जलवायु परिवर्तनको असर चरा र समुद्री जीवहरूमा पनि परेको छ । कालो गिलिमोट चरामाथि अनुसन्धान गर्ने पक्षीवैज्ञानिक जर्ज डिवोकीले यो वर्ष निकै परिवर्तन देखिएको बताए ।
कालो गिलिमोटका जोडीहरूले अघिल्लो वर्ष २२५ गुँड बनाएकोमा यो वर्ष ८५ चरा मात्र आर्कटिक पुगेको र ५० वटा पोथीले मात्र अण्डा दिएका छन् । हिउँ घटेकाले यसो भएको हो ।
राष्ट्रिय समुद्री वातावरण प्रशासनकी प्रमुख एमिली भन्छिन्, ‘आर्कटिकमा विगत ३० वर्षमा हिउँको मोटाइ ९५ प्रतिशतले घटेको छ । सन् १९८५ मा आर्कटिकको दुई तिहाइ भागमा हिउँ मात्र थियो तर अहिले एक तिहाइ मात्र छ ।
आर्कटिकको रंग सेतोबाट नीलोमा परिवर्तन भएको छ । रिपोर्टअनुसार, तापक्रम बढ्दा विषालु पदार्थ बढेका छन् ।
सिमेट्री जर्नलमा प्रकाशित एक अनुसन्धानअनुसार, जलवायु परिवर्तनको असर शार्कमा परेको छ । समुद्रको तापक्रम बढ्दा शार्कले पौडी खेल्ने दिशामा परिवर्तन भएको छ । अहिले उनीहरू दाहिनेतर्फ मात्र पौडन सक्छन् ।
तापक्रम बढेपछि शार्कको व्यवहारमा परिवर्तन भएर उनीहरूको मस्तिष्क विकास र कार्यक्षमतामा नकारात्मक असर परेको छ ।
एजेन्सी