
सोलुखुम्बु – यहाँको थुलुङदूधकोशी गाउँपालिका वडा नं ९ लोखिमबाट प्रवाह गरिने सेवा काठमाडौंबाट प्रदान गरिएको छ । काठमाडौंको चावहिलमा लोखिम हाउस नामबाट सञ्चालनमा रहेको कार्यालयबाट वडाको सेवा प्रदान गरिएको हो ।
काठमाडौंलाई कार्यथलो बनाएर बसेका वडावासीलाई लक्षित गरी हरेक महिनाको अन्तिम दुई दिन लोखिम हाउसले काठमाडौंबाट सेवा दिँदै आएको छ । गत भदौ महिनामा कोठा भाडामा लिएर सेवा थालिएको वडाध्यक्ष भूपाल सिंह राईले जानकारी दिए । लोखिम हाउसबाट हालसम्म चार पटकमा १३० जनालाई सेवा प्रदान गरिसकिएको छ जसमध्ये सबैभन्दा धेरै पञ्जीकरण सम्बन्धी सेवा रहेको लोखिम हाउस काठमाडौंले जनाएको छ ।
वडा कार्यालय र वडाध्यक्ष स्वयंको पहलमा महिनाको अन्तिम दुई दिन वडाका सम्पूर्ण सेवा काठमाडौंबाटै प्रदान गर्ने सो वडा जिल्लाकै एक मात्र वडा हो ।
“सेवा सञ्चालनका लागि मेरो आफ्नै निजी खर्चमा काठमाडाँै जाने र आउने गर्छु ।” वडा अध्यक्ष भुपाल सिंह राईले भने, “वडावासी जनतालाई सहज सेवा प्रदान गर्नु हाम्रो दायित्व हो ।” लोखिम हाउसमार्फत वडाबाट हुने सबैखाले सेवा प्रदान गरिने वडा अध्यक्ष राईको भनाइ छ । “काठमाडौंमा रहेका लोखिमवासी जनतालाई लोखिम हाउसले सजिलो बनाएको छ ।”
एक सेवाग्राही दावा गेल्जे शेर्पाले भने, “वडा कार्यालयको कदमका कारण समय र पैसाको बचत भएको छ, हाम्रा जनप्रतिनिधिदेखि हामी सन्तुष्ट छौ ।”
काठमाडौंमा सञ्चालन गरिने लोखिम हाउसबाट विवाह, जन्म, मृत्यु दर्ता र जग्गाको कागजात मिलाउनेलगायत सेवा लिनेको सङ्ख्या अधिक रहेको वडा अध्यक्ष राईको भनाइ थियो । आफू निर्वाचित भइसकेपछि जनतामा गरेको प्रतिबद्धता पूरा गर्नको लागि नै लोखिम हाउसको स्थापना गरिएको वडाध्यक्ष राईको भनाइ छ । भोजराज कार्की / रासस