१० साउन २०८३, आइतबार

जापानले रुकुम पश्चिमको चौरजहारी अस्पतालमा इमर्जेन्सी विभाग बनाउने

मंसिर २८, २०७५
जापानले रुकुम पश्चिमको चौरजहारी अस्पतालमा इमर्जेन्सी विभाग बनाउने

काठमाडौं —नेपालका लागि जापानी राजदूत मासामिची साइगोले रुकुम पश्चिम जिल्लामा रहेको चौरजहारी अस्पतालमा इमर्जेन्सी विभाग अस्पताल भवन निर्माणका लागि सहायता सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सहायता सम्झौता जापानी राजदूतावास र मिलन अधिकारीका बीच भएको हो । अधिकारी मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी संस्थाका अध्यक्ष हुन् र त्यही संस्थाले उक्त अस्पताल सञ्चालन गरेको छ ।
चौरजहारी अस्पतालको इमर्जेन्सी विभाग निर्माण परियोजनामा जापान सरकारको धरातलीय मानव सुरक्षा परियोजनाका लागि आर्थिक सहायता अन्तर्गत रकम विनियोजन गरिएको हो । सहायताको कुल रकम लगभग ९० लाख ५० हजार रुपैयाँ छ ।
अस्पतालमा अहिले इमर्जेन्सी विभाग नभएकाले गम्भीर रोग लागेका बिरामीले कि त अस्थायी कक्षमा कि त सामान्य परामर्श कक्षमा उपचार गराइरहनुपरेको छ । त्यसले गर्दा बिरामीहरूमा खतरनाक तथा अस्वस्थकर परिस्थिति बन्ने गरेका छन् ।
अस्पतालमा दैनिक २०० जति बिरामी आउने गरेका छन् ।
यो परियोजना सम्पन्न भएपछि रोगीहरूले थप सुरक्षित तथा स्वस्थ वातावरणमा उपचार पाउनेछन् अनि चिकित्सकहरूले थप प्रभावकारी र उपयुक्त स्वास्थ्योपचार दिन सक्नेछन् ।
जापानी राजदूतावासले यस परियोजनाले दुर्गम क्षेत्रमा रहेका अस्पतालमा इमर्जेन्सी सेवालाई वृद्धि गराउन तथा मध्यपश्चिम क्षेत्रमा मृत्युदर घटाउन योगदान गर्ने आशा लिएको छ । यो सहायताले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धमा अभिवृद्धि हुने आशा पनि उसले गरेको छ ।

फोटो र भिडियो

 

salt training

कमेन्ट गर्नुहोस्