२४ असार २०८३, बुधबार

नुवाकोट दुर्घटना, मृतकको संख्या १८ पुग्यो, ३ जनाको सनाखत

मंसिर २८, २०७५
नुवाकोट दुर्घटना, मृतकको संख्या १८ पुग्यो, ३ जनाको सनाखत

नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते १६ जनाको उद्धार गरिएको छ । 

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा३ख ३९१३ नं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । 
दुर्घटनामा तीन महिला र १५ पुरुषको मृत्यु घटनास्थलमा नै भएको उनले जनाए । 
 मृतकमध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेँशीका रितेश पण्डितको सनाखत भएको छ । 

घटनास्थलबाट उद्धार गरिएकामध्ये सात जनालाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ भने बाँकीलाई यातायातका साधन नहुँदा उपचारका लागि पठाउन कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए । 
 गाडीमा ४० भन्दा बढी व्यक्ति सवार रहेको बताइएको छ । सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागीलाई बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्